गगनको टिप्पणी– गिनिज बुकमा नाम लेखाउने ओलीको रहरले तीन वर्ष खेर गयो

काठमाडौं।  नेपाली कांग्रेसका नेता गगन थापाले सन्काहा शासकका कारण नेपालले तीन वर्ष खेर फाल्नु परेको बताएका छन् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षे कार्यकाल नेपालको लागि अवसर भएपनि खेर गएको उनले टिप्पणी गरे। ‘सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहरले तीन वर्ष खेर फाल्यौं।’

विद्युत प्राधिकरण कर्मचारी संघको अधिवेशनमा उनले भने, ‘अभूतपूर्व मौका पूर्वसरकारले पाएको थियो। प्रत्येक क्षेत्रमा रिफर्म हुन्छ भन्ने थियो।’ पूर्वसरकारप्रति असन्तुष्टि व्यक्त गरेका थापाले वर्तमान सरकारको कार्यशैलीप्रति पनि चिन्ता व्यक्त गरे। सत्ताको नेतृत्व गर्ने दलले डेलिभर गर्न नसक्दा निराशा बढ्नेतर्फ उनले सचेत बनाए। निराशा बढेपछि व्यवस्था हटाइदिऔं भन्ने शक्ति सल्बलाउन थालेको उनले बताए। व्यवस्था हटाउनको विकल्पमा यही प्रणालीमा सुधार गर्नुपर्ने उनले सुझाए।

जनसंख्याको आधारमा विशाल दुई देश भारत र चीनबाट फाइदा लिनबाट नेपाल चुकेको थापाले बताए। नेपालले अवसर गुमाउँदै गयो भने सन् २०५० पछि युवाशक्ति समेत नपाउने उनको चिन्ता छ।। ३० वर्ष पछि नेपालमा वृद्धको जनसंख्या बढी हुने र गर्न सक्ने ऊर्जाशील युवाको संख्या कम हुने बताए।

वृद्ध भत्ता बढाउने अस्वस्थ प्रतिस्पर्धाले आर्थिक संकट ल्याउने उनले चिन्ता व्यक्त गरे। जापानमा वृद्धहरुको संख्या हाल बढी भएपनि ढुकुटी बलियो भएको तथ्य सुनाउँदै उनले भने, ‘जापानले आफ्ना नागरिक जवान हुँदा खुत्रुकेमा रकम जम्मा गरेको थियो। र, खर्च गरिरहेको छ। हामीकहाँ खुत्रुकेमा जम्मा छैन।’ ऊर्जा मन्त्रालय आफ्नो पहिलो रोजाईको मन्त्रालय भएपनि भागवण्डाका कारण स्वास्थ्य मन्त्रालयको मन्त्रालय सम्हाल्न पुगेको विगतको स्मरण गरे।

तपाईको प्रतिक्रिया