सुर्खेतमा तिहारलाई लक्षित गरी ‘ट्रायल’ का रुपमा फूलखेती

सुर्खेत । तिहार नजिकिएसँगै फूलको माग पनि बढ्न थालेको छ । पछिल्लो समय ठूलो शहरमा परिणत हुँदै गएको सुर्खेत उपत्यकामा पनि फूलको माग बढ्दै गएको छ । यो क्षेत्रमा व्यवसायिक रुपमा फूल खेती गर्ने गरिएको छैन । तिहारलाई लक्षित गर्दै सुर्खेतका एक युवाले परीक्षणका रुपमा व्यावसायिक फूल खेती गरेका छन्। स्थानीय ईन्द्रजीत सुनारले वीरेन्द्रनगर–३ मा करिब ३ कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फुलाउन सुरू गरेका छन्।

‘चाडबाडका बेला भारतलगायतका विभिन्न देशबाट फूल नेपाल आयात हुने गरेको छ, सुर्खेतमा पनि यो क्रम चलिरहेको छ,’ सुनारले भने, ‘अहिले मैले सुरू गरेको फूल खेती ट्रायलका रूपमा छ, कति माग आउँछ । त्यस अनुसार आगामी दिनमा बढाउने योजना बनाएका छौं।’ तिहारको समयमा स्थानीय स्तरबाट हुने फूलको माग र उत्पादनको अवस्था हेरी व्यावसायिक पुष्प खेतीलाई बढावा दिने योजनामा रहेको उनले बताए ।

कृषि नै पढेका उनले एक जना अर्का कृषि विषय पढेका प्राविधिक पनि राखेका छन्। आफूले पढेको कुरालाई पछ्याएर थोरै जग्गामा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने बुझाईले पुष्प खेती सुरू गरेका हौं,’ उनले भने, ‘माटो र स्याहार भयो भने फूल खेती सोचे अनुसार हुनेरहेछ भन्ने बुझाई छ।’ करिब ३ कठ्ठा जग्गामा सयपत्री खेती गर्न एक लाख रूपैयाँ लागेको उनले बताए। उनले सुर्खेतमै सयपत्रीको बेर्ना तयार गरेका थिए ।

उक्त सयपत्री तिहारअघि नै तयार भईसकेको छ। ‘हामीले तिहारसम्म तयार हुन्छ भन्ने सोचेका थियौं, तर त्यसअघि नै तयार भईसकेको छ,’ उनले भने, ‘यसलाई टिप्यो भने पनि योभन्दा बढी फुल्छ, तिहारलाई पनि काम लाग्छ।’ थाईल्याण्डबाट आयात हुने ‘कर्मा–५५५’ जातको फूल लगाईएको छ। कर्मा ग्रुप अफ कम्पनी नेपालले यो जातलाई नेपालमा आयात गर्ने गरेको सुनारले बताए।

यो जातको सयपत्रीको सबै हाँगाहरुमा फूल लाग्छन्। एक लाख लगानी गरिएको खेतीबाट ३ लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा उनको छ। उनले उत्पादन गरेका सत्रपत्री तिहारमा मात्र नभई मंसिरसम्म पनि खपत हुने अपेक्षा गरिएको छ। तिहारमा टिपेको बोटमा फेरि फूलेका सयपत्री विवाहको सिजन मंसिर महिनासम्म खपत हुने उनले बताए।

तपाईको प्रतिक्रिया