माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी, एप्पल पर्‍यो पछि

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दौडमा माइक्रोसफ्ट पहिलो नम्बरमा उक्लिन सफल भएको छ । शुक्रबारको बजार मूल्य अनुसार माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो ।

शुक्रबार बजार बन्द हुने बेलामा माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २.४६ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४३ ट्रिलियन डलरमा झरेको छ ।

आपूर्ति श्रृङखलाको अवरोधका कारण एप्पलले ६ अर्ब डलर घाटा व्यहोरेको रिपोर्ट बिहीबार सार्वजनिक भएसँगै शेयर मूल्यमा आएको गिरावटका कारण एप्पल दोस्रो स्थानमा झरेको हो । साथै अफिस, विन्डोज तथा क्लाउड प्रडक्ट कारण माइक्रोसफ्टको आम्दानी उल्लेख्य रुपमा बढ्नुले पनि कम्पनीलाई विश्वको मूल्यवान कम्पनी बनाउन सहयोग गरेको बताइएको छ ।

शुक्रबार माइक्रोसफ्ट कम्पनीको शेयर मूल्यमा १ प्रतिशतले वृद्धि भएर ३२७.५० डलर पुगेको थियो भने एप्प्ल कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटेर १४६.४१ डलर पुगेको थियो ।

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्टले एप्पललाई पछि पारेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०१८ र सन् २०२० को जुलाइमा पनि माइक्रोसफ्ट पहिलो स्थानमा उक्लिएको थियो । त्यस्तै गुगलको मातृ कम्पनी अल्फाबेटले पनि सन् २०१६ मा एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि पाउन सफल भएको थियो ।

कतिपय समयमा दोस्रो स्थानमा झर्नु परेपनि एप्पल विश्व बजारमा अग्रणी स्थानमा रहँदै आएको छ, लामो समयदेखि । सन् २०१८ मा एप्पल १० खर्ब बजार मूल्य भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो । त्यसको दुई वर्षपछि नै एप्पलले २० खर्ब बजार मूल्यको कोशेढुंगा पार गर्दै अर्को कीर्तिमान कायम गरेको थियो ।

द भर्जको सहयोगमा

तपाईको प्रतिक्रिया