कर्णाली सरकारको नयाँ क्याबिनेट चर्चामा छन् यी अनुहार

सुर्खेत। कर्णाली सरकारले आज नयाँ नेतृत्व पाउँदैछ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्दैछन्। र आज साँझ नै उनी मुख्यमन्त्री नियुक्त हुनेछन्। नयाँ मुख्यमन्त्रीको नियुक्तिसँगै नयाँ मन्त्रिपरिषद् क्वाबिनेट बन्ने छ। जीवनबहादुर शाही नेतृत्वको नयाँ क्याबिनेटमा अधिकांश नयाँ अनुहारले प्रवेश पाउने छन्। मुख्यमन्त्रीसहित ८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मन्त्रालयको भाग्यबन्डा टुंगिसकेको छैन।

मन्त्री बन्ने निश्चित भएका चन्दबहादुर शाही, विन्दमान विष्ट र हिमबहादुर शाही। नेपाल समय

मन्त्रालय भागबन्डामा दलहरुभित्र मतभेद छ। कांग्रेसले मुख्यमन्त्रीसहित २, माओवादीले ४ र समाजवादीले ३ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन्। तर सांसद संख्याको आधारमा कांग्रसले मुख्यमन्त्रीसहित एक, माओवादीले ४ र समाजवादीले दुई मन्त्रालय पाउनेगरी छलफल भइरहेको एक सांसदले जनाए।

कांग्रेसले पार्टीभित्रको आन्तरिक व्यवस्थापनका लागि दुई मन्त्रालयको दाबी गरेको हो। अन्य प्रदेशमा जस्तै कर्णालीमा पनि कांग्रेसभित्र दुई लाइन छ। पाँच जना संस्थापन पक्षमा संसदीय दलका नेता शाहीसहित र संस्थापनइतर समूहमा एक दीनबन्धु श्रेष्ठ मात्रै छन्। महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा जलस्रोत तथा उर्जा विकास मन्त्री थिए। मुख्यमन्त्रीको राजीनामासँगै उनको पद पनि स्वतः गुमेको छ। उनको व्यवस्थापनका लागि कांग्रेसले दुई मन्त्रालय दाबी गरेको हो।

सरकारको नेतृत्व लिइसकेका कारण कांग्रेसले दुई मन्त्रालय पाउने सम्भावना न्यून छ। दुई मन्त्रालय पाए पनि श्रेष्ठले मन्त्री पाउने सम्भावना न्यून रहेको कांग्रेसकै एक सांसदले बताए। ‘उहाँले सुरुवातदेखि नै लाभको पद पाउनु भएको छ,’ ती सांसदले भने, ‘अब उहाँ श्रेष्ठले मन्त्री पद पाउनु हुन्न।’ मन्त्री हुनुअघि श्रेष्ठ कर्णाली प्रदेशसभामा सार्वजनिक लेखा समितिको अध्यक्ष थिए। कांग्रेसले एक मन्त्रालय मात्रै पाएको खण्डमा संसदीय दलका सचेतक हिमबहादुर शाही मन्त्री बन्ने छन्। अघिल्लो पटक अन्तिममा मन्त्री बन्नबाट बन्चित भएका उनी यसपटक जसरी पनि सरकारमा जाने कांग्रेसका नेताहरु बताउँछन्।

मन्त्रालय भागबन्डामा दलहरुभित्र मतभेद छ। कांग्रेसले मुख्यमन्त्रीसहित २, माओवादीले ४ र समाजवादीले ३ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन्।

त्यस्तै चार मन्त्री दाबी गरेको माओवादीले पनि सरकारमा नयाँ व्यक्तिलाई मौका दिने जनाएको छ। सांसद विन्दमान विष्टको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुनेगरी छलफल भइरहेको माओवादीका एक सांसदले बताए। ‘अब विष्टजीकै नेतृत्वमा हामी सरकारमा जान्छौं,’ ती सांसदले भने, ‘नयाँलाई मौका दिनेगरी छलफल भइरहेको छ। ती सांसदका अनुसार रुकुम पश्चिमका गोपाल शर्मालाई पुनः मन्त्रीमा दोहोरिनुपर्ने दबाब बढको छ। मुख्यमन्त्रीले राजीनामा दिनुअघि उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए।

तर रुकुमले यसअघि नै दुई वटा मन्त्री पाइसकेका कारण अब रुकुम बाहेकका जिल्लाबाट मन्त्री बनाउने प्रयास भइरहेको छ। ती सांसदका अनुसार माओवादी केन्द्रबाट सुर्खेतका विन्दामान विष्ट र ठम्बर विष्ट, जाजरकोटका गणेशप्रसाद सिंह, डोल्पाका विरबहादुर शाहीको नाम नयाँ मन्त्री बन्नेमा चर्चा छ। माओवादीले ३ मन्त्रालय पाएको खण्डमा ठम्बर विष्टले मन्त्रीको दाबी छोड्न सक्ने छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट मुगुका चन्द्रबहादुर शाही र रुकुम पश्चिमका देवी ओली मन्त्री बन्ने सम्भावना छ। समाजवादीबाटै जुम्लाका पदमबहादुर रोकाया पनि मन्त्रीको चर्चामा छन्। समाजवादीले तीनवटा मन्त्रालय पाउने सम्भावना न्यून छ। तर आफूहरुले भने कुनै पनि हालतमा तीन मन्त्रालय नछोड्ने सांसद ओली बताउँछिन्।

तपाईको प्रतिक्रिया