भोलि ‘नेपाल बन्द’ गर्न यातायात व्यवसायी-व्यापारीलाई विप्लव समूहको अपिल

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषित बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायतलाई आह्वान गरेको छ। पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले विभिन्न पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्थालगायत सम्बन्धित क्षेत्रका सम्पूर्ण पक्षलाई बन्द सफल पार्न आह्वान गर्दै जारी गरेको पत्रमा भनिएको छ, ‘सरकारले हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने निश्चित छ ।

सरकारको यसप्रकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ । यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आमजनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व हो।’

तपाईको प्रतिक्रिया