तीन महीनामै २१ अर्बको सुनचाँदी भित्रियो, अघिल्लो वर्षभन्दा १७ गुणा धेरै

काठमाडौं । कोरोना कहर मत्थर भएसँगै देशमा विलासी वस्तु सुनचाँदीको आयात चुलिएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महीना असोजसम्ममै देशमा रु २१ अर्ब १० करोड मूल्य बराबरको सुनचाँदी आयात भएको तथ्याङ्क नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ। यो गत वर्षको तुलनामा १७ गुणा धेरै हो। गत वर्ष असोजसम्म रु १ अर्ब २४ करोडको मात्रै सुनचाँदी आयात भएको थियो।

नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार, असोजसम्म रु ११ अर्ब १२ करोड ६५ लाखको सुन आयात भएको छ। गत आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महीनामा जम्मा ७४ करोड ८५ लाखको मात्र सुन आयात भएको थियो।

सुनभन्दा पनि चाँदीको आयात झन् उच्च गतिमा बढेको तथ्याङ्कले देखाउँछ। असोजसम्म रु।९ अर्ब ९७ करोड मूल्य बराबरको चाँदी आयात भएको छ। यो गत आर्थिक वर्ष २०७७/७८ मा आयात भएको चाँदीको तुलनामा पनि धेरै हो। गत आर्थिक वर्षमा रु।८ अर्ब ५९ करोड मूल्य बराबरको चाँदी आयात भएको थियो।

सुन र चाँदीले देशको कुल आयात हुने वस्तुमा क्रमशः २/३ र २/१ प्रतिशत हिस्सा ओगट्छन्। नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले कोरोना महामारीको वेला घटेको सुनको आयात अहिले बढेकाले एकै पटक ठूलो परिमाणमा आयात भए जस्तो देखिएको बताए। “सुनको आयात नेपाली बजारको माग अनुसार ठीकै हो,” उनले भने, “तर, चाँदीको आयात भने नेपाली बजारको मागभन्दा धेरै छ।”

शाक्यले चाँदी भारततर्फ तस्करी हुने गरेकाले आयात बढेको अनुमान गरे। खासगरी, भारतीय रुपैयाँको अभावका कारण लेनदेनमा प्रयोग गर्न नेपाल हुँदै भारत तस्करी भएको हुनसक्ने उनको भनाइ छ।

उच्च आयात भएका १० वस्तु

चालू आर्थिक वर्षको पहिलो तीन महीनामा नेपालले पेट्रोलियम पदार्थको आयात गर्नै ५४ अर्ब विदेश पठाएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा १३२/९ प्रतिशत धेरै हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालले भुक्तानी गर्ने रकम पनि बढेको हो। नेपालको कुल आयातमा ११।३ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको छ।

पेट्रोलियम पदार्थपछि दोस्रो धेरै आयात हुने वस्तुमा यातायातका साधन र पाटपुर्जा छन्। असोजसम्ममा नेपालले रु।४० अर्ब ६७ करोडको यातायातका साधन र पाटपुर्जा आयात गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ६४/४ प्रतिशत धेरै हो।

उच्च आयात भएको तेस्रो वस्तुमा औद्योगिक पाटपुर्जा छन्। असोजसम्म २० अर्ब ८३ करोडको औद्योगिक मेसिन आयात भएको छ, जुन गत वर्षभन्दा ३८/६ प्रतिशत धेरै हो।

आयात भएका वस्तुको चौथो नम्बरमा कच्चा भटमासको तेल छ। असोजसम्म नेपालले रु २० अर्ब ६१ करोडको कच्चा भटमासको तेल आयात गरेको छ, जुन गत वर्षको यही अवधिका तुलनामा १५३/३ प्रतिशत बढी हो। नेपालले आयात गरेको कुल वस्तुको ४/३ प्रतिशत हिस्सा भटमासको तेल छ। नेपाल हुँदै भारततर्फ निर्यात गर्न भटमासको तेलको आयात चुलिएको हो।

नेपालले उच्च आयात गरेको वस्तुको पाँचौं स्थानमा सञ्चारका सामग्री र उपकरण छन्। असोजसम्म रु।२० अर्ब ३१ करोड मूल्यका सञ्चारका उपकरण आयात भएका छन्, जुन गत वर्षभन्दा ५१/९ प्रतिशत धेरै हो।

नेपालमा आयात हुने प्रमुख १० वस्तुमा माथि उल्लिखित बाहेक कच्चा पाम आयल, एमएस बिलेट फलाम, औषधि, सुन र धानचामल छन्। चालू आर्थिक वर्षको पहिलो तीन महीनामै नेपालले रु/१० अर्ब ४७ करोडको धानचामल आयात गरेको छ।

तपाईको प्रतिक्रिया