रूकुम पश्चिमकाे काँग्रेस सभापतिमा वली निर्वाचित

रुकुम पश्चिम । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश वली दोहोरिएका छन् । छैटौं जिल्ला अधिवेशनमा निर्वाचनमार्फत सभापति चुनिएका ओली सातौं अधिवेशनबाट भने सहमतिमार्फत सभापति चुनिएका हुन् ।कांग्रेसले मंसिर ६ गते अधिवेशनको उद्घाटन गरेको थियो । त्यसको दुई दिनपछि सहमतिमै चयन भएका जिल्ला तथा क्षेत्रीय कार्य समितिको टुंगो लागेको कांग्रेसले जनाएको छ ।

जिल्लाको उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही चयन भएका छन् । सहसचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्कालाई चयन गरिएको नव निर्वाचित सचिव शाहीले जानकारी दिए ।

कोषाध्यक्ष भने जिल्ला कार्य समितिले मनोनीत गर्ने छ । गएको कार्यकालमा कोषाध्यक्ष रहेका मोहवीर खड्कालाई नै फेरि पनि कोषाध्यक्ष मनोनीत गर्ने तयारी गरिएको छ । क्षेत्रीय सभापतितर्फ ‘क’ निर्वाचन क्षेत्रमा महेन्द्र केसी र ‘ख’ निर्वाचन क्षेत्रमा भद्रबहादुर विष्टलाई सर्वसम्मत चयन गरिएको छ ।

महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सहमतिमार्फत नै चयन गर्ने भन्दै त्यो सूची भने सार्वजनिक गरिएको छैन । एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिमा आकांक्षीको संख्या धेरै छ । जिल्लाका अधिकांश नेताहरू संस्थापन पक्षतर्फ लागेको र सहमतिका लागि सहज भएको एक नेताले बताएका छन् ।

तपाईको प्रतिक्रिया