विश्व स्मार्ट फोन बजारमा मन्दी, एप्पल दोश्रो स्थानमा उक्लियो

चिनियाँ स्मार्ट फोन ब्राण्ड साओमीलाई पछि पार्दै एप्पल सबैभन्दा धेरै बिक्रि हुने स्मार्ट फोनको सूचीमा दोश्रो स्थानमा उक्लिएको छ ।

सन् २०२१ को तेश्रो त्रैमासिकमा विश्व बजारमा बिक्री भएका स्मार्ट फोनको संख्याको आधारमा एप्पलले साओमीलाई पछि पारेको छ । पहिलो स्थानमा भने सामसुङले आफूलाई कायमै राख्न सफल भएको छ ।

गार्टनरले सार्वजनिक गरेको रिपोर्ट अनुसार सामसुङ विश्व स्मार्ट फोन बजारमा २०.२ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा छ । यद्यपि गत वर्षको सोही अवधिको तुलनामा सामसुङको बजार पकड १.९ प्रतिशतले खस्किएको रिपोर्टमा उल्लेख छ ।

तेश्रो त्रैमासिकमा विश्व स्मार्ट फोन बजारमा स्मार्ट फोनको बिक्रीमा ६.८ प्रतिशतको मन्दी देखिएको छ । स्मार्ट फोन बिक्रिमा देखिएको मन्दीको मूख्य कारण स्मार्ट फोनको उत्पादनमा आएको गिरावट हो ।

खासगरी स्मार्ट फोनका पाटपुर्जाको अभावका कारण स्मार्ट फोन कम्पनीहरूको आफ्नो उत्पादन कार्यतालिका नै अवरुद्ध हुँदै आएको छ ।

गार्टनरका निर्देशक भन्छन्-स्मार्ट फोनको उच्च मागका बाबजुत प्रडक्टहरूको लञ्चिङमा ढिलाइ, आपूर्ति तालिकामा सुस्तपना तथा अपर्याप्त सामानहरूका कारण स्मार्ट फोनको बिक्री घटेको हो ।

आपूर्ति अवरोधले प्रिमियम स्मार्ट फोनको तुलनामा आधारभूत तथा युटिलिटी स्मार्ट फोनहरूको उत्पादन कार्यतालिकामा ठूलो प्रभाव पारेको छ ।

तथापि समग्र बजार हिस्सामा गिरावटका बाबजुत नम्बर वान ब्राण्ड सामसुङको प्रिमियम स्मार्ट फोनको माग उच्च रह्यो । खासगरी यस अवधिमा सामसुङको फोल्डेबल स्मार्ट फोनलाई प्रयोगकर्ताले निकै रुचाएको पाइएको छ ।

विश्व स्मार्ट फोन बजारमा अमेरिकी कम्पनी एप्पल दोश्रो स्थानमा उक्लिँदा १४.२ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । चिनियाँ स्मार्ट फोनलाई पछि पार्दै एक स्थान माथि उक्लिएको एप्पलका आइफोनको मागमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

खासगरी यस अवधिमा एप्पलका फाइभ जी फोनको बिक्रि उच्च देखिएको छ । एप्पलले फाइभ जी आइफोनको बिक्री बढाउनका लागि अनलाइन च्यानल तथा बिक्री कार्यक्रमहरूको पुनर्संरचना गर्ने काम गरिरहेको गार्टनरले जनाएको छ ।

विश्व स्र्माफोन बजारमा तेश्रो स्थानमा रहेको साओमीको बजार हिस्सा १३ प्रतिशत कायम भएको छ । पछिल्लो समय सामओमीले युरोप तथा मध्यपूर्वमा आफ्नो बजार विस्तारका लागि अनलाइनमा च्यानलमा केन्द्रित रणनीति अख्तियार गर्नुका साथै तत् तत् क्षेत्रका टेलिकम सेवा प्रदायकहरूसँग साझेदारी गर्ने कोसिस गरिरहेको छ । जसका कारण साओमीले गत वर्षभन्दा आफ्नो बजार हिस्सा १ प्रतिशतले बढाउन सफल भएको छ ।

अन्य टप फाइभ स्मार्ट फोनहरुमा चिनियाँ ब्राण्ड भिभो र ओप्पो रहेका छन् । भिभोले गत वर्षको सोही अवधिको तुलनामा आफ्नो बजार हिस्सा २.४ प्रतिशतले वृद्धि गरेको छ भने ओप्पोले १.७ प्रतिशत वृद्धि गर्न सफल भएको छ ।

एजेन्सी

तपाईको प्रतिक्रिया