‘अनुहारको बनोटअनुसार हेयर स्टाइल बनाउनु राम्रो’

काठमाडौं । खुशी पाठक त्रिपुरेश्वरस्थित ऐना युनिसेक्स सैलुनकी सञ्चालक हुन् । करियरको शुरुवातमा यति एयरलायन्सको एयर होस्टेसको रूपमा चार वर्ष काम गरेकी खुशी त्यसपछि व्यवस्थापनको काममा सरिक भइन् ।

सोलार पावर ‘इको पावर डेभलपमेन्ट’को डाइरेक्टर एवं अपर ल्याप्चेखोला हाइड्रोपावरको एचआर तथा एडमिन म्यानेरको रुपमा समेत काम गरिसकेकी खुशीले ब्लुवर्ड मलमा गत साउनदेखि युनिसेक्स सैलुन सञ्चालनमा ल्याएकी हुन् । पाठकसँग अनलाइनखबरले गरेको सौन्दर्यवार्ता :

अहिले टिनएजर्समा कस्तो हेयर स्टाइल बढी चल्तीमा छ ?

टिनएजरहरूमा आफ्नो लुक्स र ड्रेस अनुसार हेयर स्टाइल बनाउने प्रचलन बढी छ । कुनै व्यक्ति कस्तो कार्यक्रममा सहभागी हुँदैछ, त्यसले पनि हेयर स्टाइल निर्धारणमा प्रभाव पार्छ । सामान्यतया केराटिन ट्रिटमेन्ट, हेयर स्ट्रेट गर्ने चलन बढी छ ।

प्रायः ग्राहकहरूले अनुहारको बनोट अनुसार हेयर डिजाइन गराउँछन् कि बजारमा चले अनुरुपको ?

धेरै ग्राहकहरु त बजारमा चलेको स्टाइलमा कपालको डिजाइन गराउन भन्दै आउँछन् । तर हामीसँग हेयर मास्टरहरु पनि हुनुहुन्छ । उहाँहरुले ग्राहकको अनुहारको आधारमा कस्तो हेयर स्टाइल सुहाउँछ ? भन्ने हेरेर त्यही अनुसार सुझाव दिनुहुन्छ । धेरैले सुझाव अनुसारको डिजाइन मन पराउँछन् । कसैले आफूले बजारमा देखेको स्टाइल नै राम्रो लाग्यो भन्नुभयो भने त्यही अनुसार गर्छौं ।

बाटुलो अनुहार भएकालाई कस्तो हेयर डिजाइन सुहाउँछ ?

सामान्यतया बाटुलो अनुहार (राउण्ड फेस) भएको मान्छेलाई कपाल स्ट्रेट गर्दा नै राम्रो हुन्छ ।

अलिक लाम्चो अनुहार भएका मान्छेलाई कस्तो हेयर स्टाइल सुहाउँछ ?

लाम्चो अनुहार भएकालाई वेभी हेयर स्टाइल हुन्छ । यसलाई ब्लो जाइ स्टाइलिङ पनि भनिन्छ । लाम्चो अनुहार भएकाहरुले बढी यस्तै डिजाइन बढी उपयुक्त मान्छन् ।

महिलाहरु कति अवधिमा हेयर डिजाइन गराउँछन् ?

नियमित फेसन रुचाउने महिलाले सामान्यतया कुनै कार्यक्रममा जानु छ भने सोही दिन हेयर डिजाइन गरेर जान्छन् । इभेन्टमा जाँदा सामान्यतया जुरो र कर्ली हेयर बनाउने चलन छ । यसबाहेक नियमित भनेको त स्ट्रेट गर्ने, केराटिन, हेयर कलर आदि नै हो । वालियाज हेयर कलर टेकनिक धेरैले मन पराउँछन् ।

कामकाजी महिलाका लागि कस्तो हेयर डिजाइन उचित हुन्छ ?

हरेक दिन काममा जानुपर्ने महिलाहरुले कपाल कलर गराउनु हुन्छ भने हल्का लाइट र कपालको डिजाइन स्ट्रेट खालको बनाउनु राम्रो हुन्छ । यसबाहेक सोल्जर लेन्थ कट र लेयर कट नियमित अफिस जानुपर्ने महिलाहरुको लागि उचित हेयर स्टाइल हो ।

अहिले केराटिनको ट्रेन्ड पनि चलिरहेको छ, के केराटिन गराउनैपर्छ ?

केराटिन भनेको प्रोटिन हो । यसले काठमाडौंको जस्तो धुलोधुवाँ बढी हुने ठाउँमा कपाललाई ड्यामेज हुनबाट बचाउँछ । साथै, यसले कपाललाई स्मुथ बनाउन पनि सहयोग गर्छ । यसले कपाल झर्न पनि रोक्छ । कलर लगाउँदा कतिपय केमिकलको प्रयोगका कारण कपाल ड्यामेज हुने र झर्ने जस्ता समस्या देखिन सक्छन् । यसलाई रोक्न पनि केराटिन आवश्यक हुन्छ ।

जाडोयाममा कपालमा चायाँ पर्छ, यसबाट कसरी छुटकारा पाउन सकिएला ?

जाडोयाममा कपाल झर्ने समस्या धेरै हुन्छ । यसलाई रोक्न वेल मसाज गर्नुपर्छ । यसले कपाल झर्नबाट रोक्छ । साथमा हेयर स्पाले पनि यो समस्याबाट मुक्ति दिन्छ ।

कपाललाई बलियो कसरी बनाउने ?

वेल मसाज, हेयर मजास र हेयर स्पा नै कपाललाई बलियो र तन्दुरुस्त राख्ने उपाय हो । कपाललाई बलियो बनाउन चिसो कपाल बाँध्नु हुँदैन । बाँध्नै परे ड्राइ गरेर मात्रै बाँध्नुपर्छ । यसबाहेक कुन स्याम्पु सुट गर्छ ? त्यो पनि हेर्नुपर्छ । कपालअनुसार फरकफरक स्याम्पु सुट हुन्छ ।

अहिले विवाहको सिजन छ, दुलहीको लागि कस्तो मेकअपको ट्रेन्ड छ ?

बिहेमा दुलहीको पोशाक सामान्यतया रातो हुन्छ । दुलहीको मेकअपलाई सुहाउँदो नेचुरल मेकअप गर्ने गरिन्छ । जसलाई हामी न्युड मेक अप भन्छौं । त्यो नै दुलहीको लागि उचित मेकअप ट्रेन्ड हो ।

तपाईको प्रतिक्रिया