महिनावरी नबार्ने जाेडीलाइ सम्मान

जुम्ला । हिनावारीको समयमा घरमा बसेर उदाहरणीय काम गर्ने दुइ जाेडीलाइ सम्मान गरिएकाे छ । पातारासी गाउँपालिकाका दुई जोडीलाई सम्मान गरिएको छ । महिनावारी भएका बेला घरमै बस्ने साउनी बोहोरा उनका श्रीमान कालु बोहोरा तथा रेउली सार्की र उनका श्रीमान वीरे सार्कीलाई सम्मान गरिएकाे हाे ।

महिनावारी हुँदा घरैमा बस्ने तथा अरूलाई बस्न प्रेरित गरेकाे भन्दै ती जोडीलाई हौसला स्वरूप सम्मान गरिएकाे गाउँपालिकाले जनाएकाे छ । तिला गाउँपालिकासँगै पातारासी गाउँपालिमा समेत छुई गोठ मुक्त अभियान सुरु गरिएकाे छ । सो अभियानमा छुई नमानेर उदाहरणीय काम गर्ने जोडीलाई गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले सम्मान गरेका हुन ।

गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएका बेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जगाएको छ । यो अभियान अहिले सार्थक बनिरहेको दाबी छ । महिनावारी भएकी महिला घरमा बसे गाई, भैँसीको दूध, दही, घ्यूलगायतका चिज दिएमा देउता रिसाउने र घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वास सबैले त्याग्नुपर्ने अध्यक्ष बोहोराले बताए ।

मुलुकी अपराध (संहिता) ले सुत्केरी अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरेकाे र यस्तो कसुर गरेकाे ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया