उदिपको हातमा आँचलको नामको मेहन्दी

अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेको फिल्म ‘ब्ल्याक’ मा एक गीत छ, ‘तिम्रो लागि तड्प्यो मुटु ए माया, तिम्रै लागि धड्क्यो मुटु ए माया ।’ गीतले आँचल र आकाशको प्रेम भाव बोल्छ । गीतमा आकाशले आँचल विना आफू न हाँस्न सक्ने न मर्न सक्ने बताएका छन् । रियल लाइफमा भने आँचलप्रति डा. उदिप श्रेष्ठको प्रेम आशक्ति गीतको भावभन्दा कम छैन ।
कोरोना महामारीले नेपाललाई आफ्नो परिबन्दमा पार्ने तयारी गरिरहँदा आँचल र उदिपले अग्नीलाई साक्षी राखेर सातै जुनी साथ दिने कमस खाए । तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाउनु उनीहरुका लागि ठूलो सफलता र खुसी थियो । कोरोनाका कारण फिल्म र म्यूजिक भिडियोको काम ठप्प हुँदा आँचलले श्रीमानसँग सम्झनलायक दिनहरु विताउने मौका पाइन् ।
विवाहको दिनदेखि आँचल र उदिपले सामाजिक सञ्जालमा एकअर्काको तस्विर पोस्ट नगरेको सम्भवतः कुनै दिन छैन । कामको शिलशिलामा एक दिन मात्र छुटिएर बस्नु परे उनीहरु सामाजिक सञ्जालमै प्रेम पोख्न थाल्छन् । उनीहरुले विवाह गरेको आउँदो फागुनमा दुई वर्ष हुन्छ । तर, यो जोडीको प्रेम अफेयरमा रहँदाको भन्दा कम छैन । उनीहरुको माया देखेर जिल्नेहरु धेरै छन् ।
यतिबेला विवाहको सिजन छ । आँचल र उदिपलाई पनि आफन्तको विवाह र रिसेप्सन पार्टीमा जान राम्रै दौडधुप छ । यसैक्रममा, शनिवार उदिपले इन्स्टा स्टोरीमा एक भिडियो राखेका छन्, जसमा उनको हातमा आँचलको नामको मेहन्दी देख्न सकिन्छ । उक्त भिडियो आँचलले पनि इन्टामा शेयर गर्दै लेखेकी छन्, ‘यू आर सो सो क्यूट ।’ भिडियोमा दुवैले एकअर्काको हात समातेका छन् ।
विशेषगरी युवतीहरुले बिहेको अघिल्लो दिन हुनेवाला श्रीमानको नाम लेख्दै हातमा मेहन्दी लगाउने गरेका छन् । हातमा लगाएको मेहन्दीको रंग गाढा भयो भने माया पनि गाढा हुन्छ भन्ने मान्यता छ । उदिपले भने आफ्नो हातमा मेहन्दीले श्रीमतीको नाम लेखेका छन् । उनको हातमा मेहन्दीको रंग पनि गाढै देखिन्छ । यो देख्दा जो कोहीलाई भन्न करै लाग्छ, ‘वाह् ! माया होस् त यस्तो पो ।’
तपाईको प्रतिक्रिया