एमसीसीबारे गठबन्धनमा कुनै विवाद छैन : माधव नेपाल

नेपालगञ्ज । नेकपा (एकीकृत समाजवादी)का अध्‍यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद नरहेको बताएका छन । उनले गठबन्धनमा रहेका सबै दलहरूबीच राष्ट्र हितमा रहेका कुनै पनि सम्झौता र योजनालाई स्वीकार गर्ने र देश हितमा नरहेका कुनै पनि सम्झौता र योजनालाई अस्वीकार गर्ने सहमति बनेको बताएका छन ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुको पहिलो लुम्बिनी प्रदेश स्तरीय सम्मेलनको नेपालगञ्जमा उदघाटन गर्दै अध्‍यक्ष नेपालले भने, “एमसीसीको नाममा गठबन्धन भत्काउने सपना कसैले देखेको छ भने त्यो कुनै पनि हालतमा पूरा हुँदैन ।”

एमसीसीबारे दलहरूबीच छलफल चलिरहेको जनाउँदै त्यसमा कुनै कमी कमजोरी छन् भने ती कमी कमजोरी सच्याउनुपर्ने आफूहरूको धारणा रहेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ थियो । अर्को प्रशंगमा उनले एकीकृत समाजवादीले सरकारमा पठाएका सबै मन्त्रीहरूले राम्रो काम गरिरहेकाे र जनताको मन जित्दै गएको पनि दावी गरे । स्वास्थ्य मन्त्रीसँग भएको भेटबारे जानकारी गराउँदै उनले कुनै पनि नेपाली कोराेनाकाे खोपबाट वन्चित नहुने गरी स्वास्थ्य मन्त्रालयले काम गरिरहेकाे जानकारी पाएकाे बताए ।

तपाईको प्रतिक्रिया