कांग्रेस केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अघिल्लो सोमबार भएको मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ। अहिले कांग्रेस मुख्यालय सानेपामा तीन क्लष्टरअन्तर्गत केन्द्रीय सदस्यहरूको मतगणना जारी छ। अहिले खसआर्य, आदिवासी जनजाति र दलित क्लष्टरका केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको हो।

खसआर्यको पाँच स्थानबाट, आदिवासी जनजातिको चार स्थानबाट र दलितको पाँच स्थानबाट मतगणना जारी छ। आजै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन समितिको छ। कांग्रेस विधानानुसार दलित क्लष्टरतर्फ चार महिलासहित नौजना केन्द्रीय सदस्यमा निर्वाचित हुने व्यवस्था छ। यस्तै, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना केन्द्रीय कार्यसमितिमा रहनेछन्। खसआर्यतर्फ ६ महिलासहित १३ जना केन्द्रीय सदस्य बन्न पाउनेछन्। कांग्रेस विधानले १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्ने व्यवस्था गरेको छ। जसमध्ये १३४ जना खुला र बाँकी क्लष्टरबाट निर्वाचित हुन्छन्। यसमा १४ जना पदाधिकारी पनि समावेश छन्।

कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरमा सुरु भएकोमा मतदान २७ मंसिरमा भएको थियो। मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु भएको थियो। पहिलो चरणमा सभापतिको नतिजा नआएपछि २८ गते पुनः मतदान गरिएको थियो। सोही राति सभापतिको मतगणना सुरु गरेर २९ गते बिहान परिणाम सार्वजनिक भएको थियो। सभापतिमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा निर्वाचित भएका छन्। उनले शेखर कोइरालालाई पराजित गरेका हुन्।

केन्द्रीय उपसभापतिको मतगणना २९ मंसिरमा सुरु भएर पुस १ गते बिहान सकिएको थियो। धनराज गुरुङ र पूर्णबहादुर खड्का उपसभापतिमा विजयी भएका छन्। त्यसैगरी महामन्त्रीतर्फको मतगणना पुस १ गते बिहान सुरु भएर सोही दिन दिउँसो सकिएको थियो। महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। सोही दिन सहमहामन्त्रीको मतगणना सुरु भएको थियो। क्लष्टरबाट आठ जना सहमहामन्त्री चुनिने व्यवस्था भएकोमा दलित, आदिवासी जनजाति र महिलातर्फको मतगणना सुरुमा गरिएको थियो।

पुस २ गते बिहान आएको अन्तिम नतिजाअनुसार दलिततर्फ जीवन परियार, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे तथा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएका थिए। बाँकी पाँच क्लष्टरको मतगणना पुस २ गते भएको थियो। पिछडिएको क्षेत्रमा बद्री पाण्डे, मुस्लिमतर्फ फरमुल्लाहा मन्सुर, खस आर्यतर्फ किशोरसिंह राठौर, मधेसीतर्फ महेन्द्र यादव र थारुतर्फ उमाकान्त चौधरी विजयी भएका छन्।

केन्द्रीय सदस्यको मतगणना पनि २ पुसमै सुरु भएको थियो। सुरुमा ३५ जना निर्वाचित हुने खुलातर्फको गणना गरिएको थियो। त्यसपछि क्लष्टरको गणना सुरु भएको हो। सबै गणना हिजो बुधबार रातिसम्म सक्ने योजना भए पनि आज बिहीबार मात्र सकिने भएको निर्वाचन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया