पौडेल र सिटौलालाई केन्द्रीय सदस्य बनाउँदै देउवा

काठमाडौं। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्दैछ। पहिलो बैठकबाटै नवनिर्वाचित सभापति शेरबहादुर देउवाले केही नेतालाई केन्द्रीय सदस्य बनाउने तयारी गरेका छन्। पहिलो बैठकबाट देउवाले नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्य बनाउन लागेको स्रोतले बताएको छ।

तर निर्वाचनमा उम्मेदवार बनेर पराजित बनेका नेताहरुलाई भने तत्कालै केन्द्रीय सदस्य मनोनित गर्ने कि नगर्ने भन्नेमा देउवा अलमलमा छन्। ‘चुनाव नउठेकालाई केन्द्रीय सदस्य बनाउन त समस्या छैन, चुनावमा उम्मेदवार बनेर हारेका नेताहरुलाई के गर्ने भन्ने अन्योल छ, सभापतिले कानून व्यवसायीहरुसँग पनि परामर्श गर्नुहोला, कसरी व्यख्या हुन्छ हेरौं,’ एक कांग्रेस नेताले हाम्राकुरासँग भने।

कानून व्यवसायीहरुले विधानको वन्धन देखाएमा भने विधान संसोधन गरेर केन्द्रीय सदस्यमा केही नेतालाई ल्याउने तयारी सभापति देउवाको छ। देउवाले पार्टी सभापतिमा पराजित डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा उपसभापतिमा पराजीत विजयकुमार गच्छेदार, महामन्त्रीमा पराजीत डा.प्रकाशसरण महत, प्रदीप पौडेललगायत केही नेतालाई केन्द्रीय सदस्य बनाउन चाहेका छन्।

विधानको व्यवस्था अनुसार थप ३३ जनालाई सभापतिले केन्द्रीय समितिमा मनोनित गर्न सक्नेछन्। यसैगरी पहिलो बैठकमा नै आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया