यि हुन एमाले सुर्खेत जिल्ला अध्यक्षका आकाँक्षीहरु

सुर्खेत । नेकपा एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदैछ । जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ । अधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वका लागि भने आकाँक्षीहरुले दौडधुप सुरु गर्न थालेका छन् । यद्यपी यसपाली पार्टी विभाजनको पाउ पुर्न एमालेले सहमतिमै नेतृत्व चयन गर्ने कसरत गरिरहेको छ।

वडादेखि पालिकासम्म सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमै टुङ्गाउने कसरत जारी राखेको हो । तर जिल्ला अध्यक्षका लागि भने झण्डै आधा दर्जन आंकाक्षीहरु छन्। अध्यक्षका लागि बहालवाला पार्टी अध्यक्ष ध्रुवकुमार शाही, उपाध्यक्ष अमृतबहादुर बिसी, जिल्ला कमिटी सदस्य डण्डिप्रसाद शर्मा, कुलमणि देवकोटा, महेन्द्र शर्मा र ऐनबहादुर चन्द लगायत आकाँक्षी देखिएका छन् । जसमध्ये शाही, विसी र शर्मा अध्यक्षका बलिया दावेदार हुन् ।

चन्द्र र देवकोटा आकांक्षी भए पनि अध्यक्ष हुने सम्भावना कमजोर रहेको एमाले स्रोतले जनाएको छ । यद्यपी बहालवाल अध्यक्ष शाही आफू पुनः अध्यक्षमा नदोहोरिने बताउँछन् । म फेरि पनि अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा छैन, सकेसम्म अन्य साथीहरुलाई पनि अवसर दिऔं भन्ने सोचेको छु’ उनले भने, पार्टीले आवश्यक ठान्यो भने त जिम्मेवारी लिन्न भन्दिनँ ।’ आकांक्षीहरु धेरै भए पनि एमाले नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गर्दै आएका छन् । नेतृत्वका लागि आधा दर्जन आकांक्षीहरु हुनुहुन्छ एमालेका एक जिल्ला कमिटी सदस्यले भने, ‘तर चुनाव हुँदैन, सबै पदाधिकारी सर्वसम्मत चुन्छौ ।  जिल्ला नेतृत्वका लागि नेताहरूको व्यवस्थापनमा मात्रै समस्या छ । अध्यक्षमा मात्रै समस्या हो, अन्य पदमा त मिलिहाल्छ ति नेताले भने,

जे भए पनि अन्तिम अवस्थासम्म सहमतिको प्रयास हुन्छ । कुनै पनि पदमा निर्वाचन नगर्ने केन्द्रको निर्देशन अनुसार सुर्खेतमा पनि सर्वसम्मत रुपमै नेतृत्व दुङ्गाउने नेताहरुको तयारी छ । अहिलेको अवस्थामा चुनाव गर्नुहुँदैन भन्ने केन्द्रको निर्देशन छ ति नेताले भने, ‘बरु यो पटक नेताहरुलाई योगदान गर्न अनुरोध गरिन्छ, तर निर्वाचन हुने स्थिति छैन । पार्टी फुटेको अवस्थामा निर्वाचन गर्दा थप क्षति पुग्ने भन्दै केन्द्रले सर्वसहमतिमै नेतृत्व छनौट गर्न निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया