के स्मार्ट लकडाउनको तयारी भएको हो ?

काठमाडौँ । मुलुकमा कोभिड-१९ सङ्क्रमण ह्वात्तै बढेपछि सरकारले स्मार्ट लकडाउनको तयारी अघि बढाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सो विषयमा छलफल भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाकाअनुसार बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितहरूको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए ।

मन्त्री खतिवडाले भने, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । नाकाहरूलाई कसरी अझ चुस्त दुरुस्त बनाउने अनि एन्टिजेन परीक्षण गर्दा देखिएका बिरामीहरूको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका बिरामीहरूको थप परीक्षण बढाउने कुराहरू, उनीहरूको खाने, बस्ने सुविधाका कुराहरू । यी सबै पक्षमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुस्टर खोपमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो ।’

के हो स्मार्ट लकडाउन ?

स्मार्ट शब्द पछिल्लो समय सूचना-प्रविधिसँग जोडिएका कुराहरुमा प्रयोग गर्ने गरिन्छ । जस्तै, स्मार्ट कार्ड, स्मार्ट राहदानी, स्मार्ट लाइसेन्स, स्मार्ट शौचालय आदि । तर, सूचना-प्रविधिभन्दा पनि जनजीवनसँग जोडिएको लकडाउन कसरी स्मार्ट हुन्छ त ?

स्वास्थ्यमन्त्री खतिवडा स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनालाई स्मार्ट लकडाउनरुपमा अर्थ्याउँछन् ।

तपाईको प्रतिक्रिया