कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल अप्रेशन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालले प्रदान गर्ने सेवाहरुमा प्रभावकारी बन्दै गएका छन् । जटिल प्रकृतिका सेवाहरु लिन प्रदेश बाहिर जान बाध्य विरामीहरुलाई अस्पतालले सुर्खेतमा प्रभावकारी सेवा दिन थालेको प्रमाणित गरेको हो ।


मेरुदण्ड सम्वन्धी समस्या भएका विरामीहरुलाई सुर्खेतमै सफल अप्रेशन गरेपछि अस्पतालप्रतिको भरोसा समेत बढेको छ । पछिल्लो एक महिनामा अस्पतालमा आएका मेरुदण्डका विरामीमध्य १० जनाको अप्रेशन सफल भएको छ । प्रदेश अस्पतालका हाडजोर्नी विभागको टोलीले पछिल्लो एक महिनामा अस्पतालमा भर्ना भएका १५ विरामीहरुमध्य १० जना सफल अप्रेशन गरेको हो । दैलेख, कालिकोट र सुर्खेत जिल्लाको पश्चिम क्षेत्रबाट अप्रेशनका लागि अस्पतालमा भर्ना भएका विरामीहरु (भीरबाट लडेर घाइते) को प्रदेश अस्पतालमै सफल अप्रेशन गरिएको छ ।

हाडजोर्नी विभागका डा. विकास केसी, डा. पदम गिरी, डा. किशाेर विष्ट, डा. प्रकाश श्रेष्ठ, डा. तेजेन्द्र साउँद, डा. भगवत सिंह धमाला र डा. रविन केसीको टोलीले हाडजोर्नीको समस्याबाट पीडित विरामीहरुको सफल अप्रेशन गरेको हो । ढाडमा समस्या भएका विरामीहरुको अप्रेशनबाट मेरुदण्डमा रड राखिएको छ ।

भौगोलिक भू–वनावटका कारण घाँस दाउरा लिन गएकाहरु बढी यो समस्याबाट पीडित हुनु भएको र उहाँहरुको अप्रेशन सुर्खेतमै सफल भएको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिए । उनले अस्पतालको ओडिडीमा आउने विरामीहरुमध्य दैनिक १२० जना हाडजोर्नी सम्बन्धी समस्या रहेका विरामीहरु रहेको बताए ।

‘घाँस दाउरा र भीरपाखामा हिँड्दा विशेष खाल गर्न जरुरी छ,’ डा. केसीले भने, ‘मेरुदण्ड सम्बन्धी जटिल समस्या भएमा सुर्खेतमै सफल अप्रेशन हुन्छ, बाह्य जिल्ला धाउनु पर्ने बाध्यताको पनि हामीले अन्त्य गरेका छौं ।’ डा. केसीकाअनुसार हाडजोर्नी र टाउको सम्बन्धी अप्रेशन गर्दा सरकारले उपलव्ध गराउने एक लाखसम्मको सहुलियत प्रदान गर्न विभागसँग अनुरोध गरिएको छ । विभागलाई आवेदन बुझाइएकाले स्वीकृत भएमा विरामीहरुले अप्रेशन गर्दा लाग्ने शुल्क सरकारले नै व्यहोर्ने डा. केसी बताउँछन् ।

तपाईको प्रतिक्रिया