‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक, शहर पसेको गाउँले ठिटोको कथा

काठमाडौं । कोरोनाको तेस्रो लहरपछि नेपाली फिल्म क्षेत्र पनि लयमा फर्कँदै छ। केही फिल्म प्रदर्शन मुखमै छन् भने केही फिल्मले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरिरहेका छन्।

यस्तैमा नयाँ नेपाली फिल्म ‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ। कोरोनाका कारण पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेको फिल्मको ट्रेलर बुधबार राजधानीमा कार्यक्रम गरि सार्वजनिक गरिएको हो।

ट्रेलरमा दुई वटा लय देख्न सकिन्छ। एकातिर फिल्मको केन्द्रीय पात्र मदनले शहरमा आफ्नो ठाउँ बनाउने प्रयास गर्दा घटेका घटनाहरू देखाइएको छ जहाँ मनमुटाव, मारपिट र शक्तिको टकराव देख्न सकिन्छ। त्यस्तै अर्कोतिर मदनकी प्रेमिकालाई देखाइएको छ, जो बाहिरको कोलाहलभन्दा बढी मनभित्रको आवाज सुन्ने प्रयासमा रहेको देखिन्छ।

दिन्स पाल्पालीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दिव्य देव केन्द्रीय भूमिकामा देखिएका छन् भने सृष्टि श्रेष्ठ, सुशीलराज पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल, रोविन तामाङलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

यसअघि पाल्पालीको लेखन तथा निर्देशनमा ‘बालकृष्ण सम’ बनिसकेको छ। जुन विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा पनि देखाइएको थियो।

फिल्मका दुई वटा गीत र एउटा टिजर यसअघि नै सार्वजनिक भइसकेका छन्। जसलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन्। फिल्मको नाम कवि भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’ बाट लिइएको छ।

फिल्मको गीत, टिजर, ट्रेलर, कलाकार तथा यसमा प्रयोग भएका संवादका कारण फिल्मबाट धेरै अपेक्षा गरिएको छ। फिल्म कस्तो बनेको छ र दर्शकको प्रतिक्रिया कस्तो रहन्छ भन्ने कुरा भने चैत ४ गते थाहा पाइने छ।

तपाईको प्रतिक्रिया