‘पिर’ मार्फत प्रकाश सपुतले उठाएका प्रश्न

काठमाडाैं । ‘ह्या ! यस्तो गीतहरु गाउँदिन, बनाउदिन भन्छु तर फेरि कसो कसो सिर्जनाहरु उतै मोडिन्छन्। थाहा छैन म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निरासाजनक हो।’ आफ्नो नयाँ सिर्जना ‘पिर’ सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन बिहीबार प्रकाश सपुतले त्यसको पोस्टरसहित ट्विटरमा लेखेका थिए। त्यसमा उनले मिश्रित प्रतिक्रिया पाए।

शुक्रबार बेलुका गीत सार्वजनिक भयो। त्यसै पनि प्रकाश सपुतको सिर्जनाले चर्चा पाउने गरेको छ र रुचाइने गरेको पनि छ। यसपटक भने उनको गीतले तरंग नै ल्याइदियो। गीतको चर्चासँगै पक्ष र विपक्षमा तीव्र प्रतिक्रियाहरु आइरहेका छन्।

गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइसकेको छ। यो सामग्री प्रकाशित गर्दासम्म भिडियो साढे ११ लाखभन्दा बढी पटकभन्दा बढी हेरिसकिएको छ। भिडियोलाई १ लाख १४ हजारभन्दा बढीले लाइक गरेका छन् भने ११ हजारभन्दा बढी कमेन्ट छन्। अधिकांश कमेन्ट सकारात्मक र सर्जकको प्रसंशा गरिएका छन्।

फेसबुक र ट्विटरमा भने मिश्रित प्रतिक्रिया आइरहेका छन्। केहीले राम्रो विषय उठाएको भनेर प्रशंसा गरेका छन् भने कतिपयले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्। कतिपयले त आउँदै गरेको स्थानीय चुनावसँग पनि यसलाई जोडेका छन्, किनकी भिडियोमा माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर देखाउन खोजिएको छ।
द्वन्द्वमा सहभागी एक लडाकु जोडीले भोग्नुपरेको दुःख भिडियोमा देखाइएको छ। गीतले दश वर्ष लामो सशस्त्र द्वन्द्वको उद्देश्यमाथि नै प्रश्न गरेको छ।

प्रकाशको भिडियोलाई लिएर माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आपत्ति जनाइसकेको छ। अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले उक्त म्युजिक भिडियो हटाउन चेतावनी दिएकी छिन्। फेसबुकमा सपुतको गीतबारे धारणा सार्वजनिक गर्दै सिंहले माफी माग्दै तुरुन्त युट्युबबाट हटाउन माग गरेकी हुन्। ‘तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्बबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु,’ उनले भनेकी छन्।

गीतविरुद्ध खासगरी सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू खनिएका छन्। माओवादी केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ।’

शुक्रबार बेलुका गीत सार्वजनिक भयो। त्यसै पनि प्रकाश सपुतको सिर्जनाले चर्चा पाउने गरेको छ र रुचाइने गरेको पनि छ। यसपटक भने उनको गीतले तरंग नै ल्याइदियो।

त्यसैगरी पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले ट्विटरमा प्रतिक्रिया जनाउँदै गीतले जनयुद्धको विरोध नगरेको बताएका छन्। उनले भनेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यसनिम्ति क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’

बाबुरामले थपेका छन्, ‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तन पद्धतिले भन्छ। अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारका निम्ति देह बेच्न बाध्य छन्। हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्। तीतो सत्य स्वीकारौं, समाधान खोजौं। प्रकाश सपुतलाई नसरापौं !’

गीतबारे प्राप्त प्रतिक्रियाहरुबारे प्रकाशको भने कुनै धारणा सार्वजनिक भएको छैन। भिडियो सार्वजनिक गर्नु केही दिनअघि उनले ट्विटरमै भनेका थिए, ‘अक्सर हामी उत्तरको प्रतीक्षा गर्छौं। तर यसपालि तपाईंले एउटा प्रश्नको प्रतीक्षा गर्नुपर्ने भएको छ। किनकि पिर एउटा सिर्जना, एउटा गीत र एउटा भिडियोको साथसाथै एउटा प्रश्न पनि हो ! बेजोड प्रश्न ! भिडियोमा केही त्यस्ता पात्रहरु समेटिएका छन् जसले ज्यानको बाज़ी थापेर देशलाई नयाँ व्यवस्था दिए र बन्दुक त बिसाए तर आफ्नै पिर बिसाउन भने पाएनन्।’

के छ भिडियोमा?

माओवादीको हिंसात्मक युद्ध र त्यसको परिणाम भोग्ने एउटा ठूलो वर्ग अटाएको १६ मिनेट २५ सेकेन्ड लामो भिडियोमा। एक माओवादी पूर्वलडाकु मासु पसल चलाउँछन्, जो युद्धमा अपांग भएका छन्। पत्नी पनि गोलीको खत बोकेर हिँडेकी छन् शरीरमा। मासु बेचेर लेनिनको पुस्तक पढ्न अझै छाडेका छैनन्। पत्नीलाई छोरीको पिर छ। तीन महिनादेखि भाडा तिर्न सकेका छैनन्। भिडियोमा कष्टकर सहरी दैनिकी झल्किन्छ। गीतसँगै आवश्यक संवादहरु राखिएको छ।

पत्नी चाहन्छिन्, पति विदेश जाउन् र केही कमाउन्। तर कमरेड विदेश जान मान्दैनन्। केही नलागेपछि पत्नी आफैं विदेशिन्छिन् सानी छोरी बाउलाई जिम्मा लगाएर। यता कमरेड बहकिन्छन्। भट्टीबाट यौनकर्मीको दैलोसम्म पुग्छन्। त्यहाँ उनले जे देख्छन्, त्यसले स्तब्ध बनाउँछ उनलाई।

लामो समयदेखि सम्पर्कविहीन पत्नी विदेशमा बन्धक परेकी हुन्छिन्। उनको उद्धारका लागि पहल गर्दा अहिले मन्त्री बनेका आफ्ना पूर्वकमान्डरले उपेक्षा गरिदिन्छन्। निराश बाबु छोरी च्यापेर गाउँ फर्किन लाग्दा छोरीले सोध्छिन् देश भनेको के हो? छोरीको अप्रत्याशित प्रश्नले उनी अकमकिन्छन् र आफैंलाई सोध्छन् के हो देश भनेको? अनि गीतमार्फत भन्छन्

देश भन्नु त के रैछ र चार किल्लाको माटो
त्यही माटो नि उनकै मात्रै जो छन् टाठोबाठो

गाउँ फर्किंदै गर्दा छोरीले अर्को प्रश्न सोध्छिन् अब आमासँग कहिल्यै भेट हुन्न? यसको उत्तर पनि बाबुसँग छैन। भन्छन् खै छोरी हुन पनि सक्छ, पृथ्वी गोलो छ भन्छन्। सांगीतिक भिडियोको कथासार यही हो।

शब्द र दृश्य दुवै सशक्त छन्। माओवादी जनयुद्धको एउटा पक्षमाथि कठोर रुपमा प्रस्तुत भएका छन् प्रकाश सपुत। गीत, निर्देशन र अभिनय सबैमा अब्बलता देखिन्छ उनको। उनलाई बलियो साथ दिएकी छिन् सुरक्षा पन्तले।

‘पिर’को यो पहिलो भाग हो। के भेट होला त भन्दै सर्जकले पिर २ ‘पिरै-पिर’को प्रतीक्षा गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया