रुसी सेनाको हमलामा अमेरिकी पत्रकार मारिए

काठमाडाैँ । युक्रेनमा अमेरिकी पत्रकार ब्रेन्ट राइनाउडको गोली लागेर मृत्यु भएको छ । ब्रेन्टको इरपिनमा गोली लागेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

घटनामा अन्य दुई पत्रकार पनि घाइते भएका छन् र उनीहरूलाई अस्पताल लगिएको छ । उनीहरूलाई रुसी सेनाले गोली हानेको बताइएको छ । युक्रेन युद्ध कभर गर्ने विदेशी पत्रकारको मृत्यु भएको यो पहिलो घटना हो । ब्रेन्टले न्युयोर्क टाइम्सले जारी गरेको प्रेस आइडी लगाएको भएपनि उनले हाल भने न्यूयोर्क टाइम्सको लागि कम नगरेको बताइएको छ ।

न्यूयोर्क टाइम्सले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको खबर दुखद भएको तर उनले युक्रेनमा आफ्नो अखबारका लागि काम नगरेको बताएको छ । उनले अन्तिम पटक न्युयोर्क टाइम्समा २०१५ मा काम गरेको र उनले युक्रेनमा लगाएको प्रेस आइडी एक वर्ष अघि नै जारी गरिएको बताएको छ ।

यद्यपि उनले युक्रेनमा कसका लागि काम गर्दै थिए भन्ने अझै स्पष्ट भइसकेको छैन । यो घटनामा घाइते भएका अर्का अमेरिकी पत्रकार जुआन एर्डोन्डोलाई अस्पताल लगिएको छ । ट्विटरमा पोस्ट गरिएको भिडियोमा उनले इटालियन संवाददातालाई भने कि आक्रमणको समयमा उनी ब्रेन्ट रिनोडसँग थिए ।

उनले भनेका छन्- ‘हामी इरपिनको पहिलो पुलहरू मध्ये एउटाको यस छेउमा थियौँ र शरणको खोजीमा दौडिरहेका मानिसहरूको भिडिओ खिचिरहेका थियौँ र कसैले हामीलाई अर्को पुलमा पुग्न मद्दत गर्न प्रस्ताव गरे र हामीले चेक पोइन्ट पार गर्‍यौँ । त्यसपछि हामीमाथि गोली चलाउन थाल्यो ।’

तपाईको प्रतिक्रिया