प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार

आफूमाथि फिफा र यूईएफएले लगाएको प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार भएको छ । खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट फ आर्बिट्रेसन अफ स्पोर्टस् (कास) ले अपिल अस्वीकार गरेको हो ।

रसियन फुटबल युनियनले प्रतिबन्ध फुकुवाका लागि कासमा अपिल गरेको थियो । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेपछि त्यसको असर खेल क्षेत्रमा पनि परेको हो । उक्त आक्रमणको विषयलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्धको असर रुसको राष्ट्रिय टोलीलाई मात्र होइन त्यहाँका सबै क्लबहरूले समेत सबै खाले प्रतियोगिताहरू खेल्न नपाउने गरी असर परेको छ । रुसले अब पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैन । यता युरोपा लिग खेल्न तयारी गरेको रुसी क्लब मस्को पनि युरोपा लिगबाट बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया