लिड्सको पुनरागमन जित

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले उल्भ्सविरुद्ध पुनरागमन गर्दै शानदार जित निकालेको छ । दुई गोलको अग्रतालाई उल्ट्याएर लिड्सले १० खेलाडीमा समेटिएको घरेलु टोली उल्भ्सलाई ३–२ ले पराजित गरेको हो ।

शुक्रबार राति भएको खेलमा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन, रोड्रिगो र लुके एलिङले समान एक–एक गोल गरे । उता उल्भ्सका लागि जोनी र ट्रिन्काओले एक–एक गोल गरे । मेलिनेक्स स्टेडियममा खेलको २६औँ मिनेटमा जोनीले गोल गर्दै घरेलु टोली अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ट्रिन्काओले गोल गर्दै वल्भ्सलाई २–० को अग्रता दिलाएका थिए ।

५३ औँ मिनेटमा उल्भ्स १० खेलाडीमा समेटियो । राहुल जिमिनेज दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि लिड्सका लागि ६३औँ मिनेटमा ज्याक ह्यारीसनले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । ६६औँ मिनेटमा रोड्रिगोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको इन्ज्युरी समयमा लुके एलिङले गोल गर्दै लिड्सलाई ३–२ गोलको जित दिलाए । जितसँगै लिड्सले ३० खेलबाट २९ अंक जोडेको छ । लिड्स तालिकाको १६औँ स्थानमा छ । पराजित उल्भ्स आठौँ स्थानमा छ । उल्भ्सको ३० खेलबाट ४६ अंक छ ।

तपाईको प्रतिक्रिया