पलको बयान : ‘जबरजस्ती करणी गरेको छैन, राती बियर दिएर फर्केको हुँ’

पोखरा । नाबालिग गायिकामाथि बलात्कार आरोपमा पक्राउ परेका पूर्ण विक्रम शाह (पल) विरुद्ध आजदेखि थुनछेक बहस शुरु भएको छ । पक्ष र प्रतिपक्षबाट आधा दर्जन कानून व्यवसायीले बहस गर्नेछन् । प्रमाण पुगे शाह र उनका म्यानेजर कृष्ण जोशी पुर्पक्षका लागि थुनामा पठाइने छ भने प्रमाण नपुगे धरौटीमा रिहा हुने छन् । जिल्ला प्रहरी कार्यालयले लामो समय लगाएर अनुसन्धान गरेपछि मिसिलसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हाे । सरकारी वकिल कार्यालयले हदैसम्मको कारबाही माग गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पललाई १२ देखि १४ वर्ष जेल सजाय माग गरिएको छ भने उनका म्यानेजर जोशीलाई आधा सजायको दाबी गरिएको छ । सरकारी वकिल कार्यालयले शाह, जोशी, पीडित बालिका र गायक  कलम खत्रीको बयान पनि संलग्न गरेको छ । दुवै पक्षले दिएको बयानका आधारमा मुद्दा दर्ता गरिएको जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । पलले सरकारी वकिल कार्यालयमा दिएको बयान अनुसार आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

पलको बयान :-
मैले २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै भिडियाेहरुमा अभिनय गर्ने क्रममा राम्रो स्वर भएकी गायिकासँग २०७७ असोज २२ गते काठमाडौँ साँखुमा भेट भएको हो । चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीबीच फोन तथा सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा कुरा हुने गरेकाे र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा विभिन्न स्थानमा गई बस्ने गरेका थियौँ ।

२०७८ वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राती अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गरेका थियौँ । राती ११ बजेर ४५ मिनेट जाँदा हामीले बाँकी रहेको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ ।

पीडित नाबालिगले २०७८ सालको जेठ अन्तिम तिर मलाई फोन गरी तपाईँ र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईँले मलाई स्विकार्नुपर्छ भन्ने समेतको शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेकी थिइन् ।

२०७८ सालको असार महिनामा काठमाडौँको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो म्यानेजर कृष्ण जोशी र म समेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकोले मैले पीडितको उमेर पुगेपछि बिहे गरौँला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।

पीडित १८ वर्षभन्दा कम उमेर नाबालिग हुन भन्ने कुरा मलाई जानकारी थियो । पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेण्ड ब्वाईफ्रेण्डबीच हुनु भनेको नर्मल हो भन्ने शब्दहरू रहेको आवाज मेरो आफ्नै हो । म्यानेजर कृष्ण जोशीले आफूले मेलमिलाप गराउन प्रयास गरेको र पल शाहले घटना मिलाउन सहयोग गर्ने शर्तमा तलब दोब्बर बनाइदिएको स्वीकारेका छन् ।

नाबालिग गायिका र पलबीच रहेको प्रेम सम्बन्धबारे आफू जानकार रहेको उनको भनाई छ । ‘नाबालिगलाई भेटेर मेलमिलापका लागि आग्रह गरेको हो । मलाई मान्छे मार्न केहीजस्तो लाग्दैन भनेर धम्क्याएको पनि हो,’ बयानमा उनले भनेका छन्, ‘मैले पलसँग मासिक २५ हजार तलब लिएर उनी सहभागी हुने तथा अभिनय गर्ने रकम, कार्यक्रम, समय निर्धारण गर्ने तथा सुटिङमा विभिन्न ठाउँ जाँदा बास बस्ने व्यवस्था मिलाउने समेतको काम गरेको थिएँ । पल र पीडितको सम्बन्ध बाहिरिँदै मिडियामा आएपछि प्रतिवादीले मलाई सम्पर्क गरी अब तिमिले मलाई सहयोग गरिदिनुपर्‍याे भन्दै मलाई मासिक तलब बढाएर ५० हजार दिई पुनः म्यानेजरमा नियुक्ति दिएकोले मैले मिलाउन प्रयास गरेको हुँ ।’

अधिकांश समय पलसँगै रहने हुँदा पीडित बालिका र प्रतिवादीबीच प्रेम सम्बन्ध रहेको आफूलाई थाहा भएको उनले बताए । ‘पलसँग मनमुटाब भएपछि मलाई म्यानेजरबाट हटाएका थिए । २०७८ सालको असार अन्तिम हप्तातिर पीडितले मलाई सम्पर्क गरी पलले नराम्रो व्यवहार गरेपछि वास्ता गर्न छाडेको बताइन्,’ उनले भनेका छन्, ‘बुझ्दा नाबालिगले आफूलाई पलले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जबरजस्ती करणी गरेका कारण पीडामा रहेको बताएकी थिइन् । प्रतिवादीले गर्लफ्रेण्ड, ब्वाईफ्रेण्डबीचको अन्डरस्ट्याण्डिङमा भएको बताए । प्रतिवादीले बिहे नै गर्नपर्छ भन्न चाहिँ मिल्दैन भन्ने शब्दहरू बोलका थिए ।’

जोशीले पटक पटक दुई पक्षको समस्या मिलाउन प्रयास गरेको बताएका छन् । ‘तिमिहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ भविष्य राम्रो हुँदा भन्दा पीडितले प्रहरीमा उजुरी गर्छु भनिन् । मैले दुर्गा अधिकारीलाई पीडितको गतिविधिबारे खबर गर भनेको थिएँ । तर निज दुर्गाले भनेअनुसार काम नगरेकीले धम्कीपूर्ण म्यासेज पठाएको थिएँ । निजले पेस गरेको म्यासेज मैले पठाएको हो । मैले पीडितलाई सम्झाउने क्रममा मान्छेलाई मार्न केही जस्तो लाग्दैन भन्ने शब्दहरू प्रयोग गरेको हुँ,’ उनको बयानमा उल्लेख छ ।

पीडितले भने पलले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक जबजरजस्ती करणी गरेको, पल शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बाध्य बनाउने गरेको, सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै कोठामा बस्न बाध्य बनाउने गरेको बयान दिएकी छिन् ।

पीडितको बयान :-
मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुचि रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ । सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रममा जाँदा, भिडिओ सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ ।

हामीबीच माया प्रेम रही आएको अवस्थामा २०७७ पुस १० गते पोखरा स्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोट स्थित रिसोर्टमा करणी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयमा दिइएको उजुरी अनुसार पलले अन्तिम पटक तनहुँमै जबरजस्ती करणी गरेको आरोप छ । लकडाउनका बेला दुलेगौंडा स्थित एक व्यक्तिको घरमा बलात्कार गरेको पीडितको जाहेरी छ ।

तपाईको प्रतिक्रिया