रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन नेपालसँग युक्रेनको आग्रह

युक्रेनमा रुसको आक्रमणपछि युक्रेनले नेपाललाई कूटनीतिक नोट पठाएर रुसी पर्वतारोहीलाई नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउन आग्रह गरेको खुलेको छ।

भारतको राजधानी नयाँ दिल्लीस्थित क्रेनी दूतावासले नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग यही चैत ७ गते रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको जनाएको छ। तर नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले भने यस्तो कुनै पनि पत्र नपाएको बिबिसीसँग बताएका छन्।

नयाँ दिल्लीस्थित युक्रेनी दूतावासले नेपाललाई पठाएको नोटमा विश्वका अधिकांश खेल संघसंगठनले रुसी खेलाडीमाथि प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाएको उल्लेख गरेको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ।

युक्रेनी दूतावासले नेपाललाई पठाएको पत्रमा ‘युक्रेनमा रुसी आक्रमणको अन्त्य नहुन्जेल यी सबै तथ्य मध्यनजर गर्दै रुसी पर्वतारोहीहरूलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाउन नेपालसँग आग्रह गर्दछौं’ उल्लेख गरिएको बिबिसीका लागि नविनसिंह खड्काले लेखेका छन्।

नेपाली अधिकारीहरूले भने युक्रेनको आग्रहपछि पनि नेपाली नियम कानुनअनुसार हिमाल आरोहणका लागि आवेदन दिने सबैलाई पर्वतारोहण अनुमति दिइरहेको बताएको पनि बिबिसीले उल्लेख गरेको छ।

‘हाम्रो पर्वतारोहण नीतिमा कुनै फेरबदल भएको छैन,’ पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बिबिसीसँग भनेका छन्, ‘हिमालहरू विश्वकै सम्पदा हुन् भन्ने हामीलाई लाग्छ र शान्तिका लागि कुनै पनि देशका नागरिक हिमाल आरोहण गर्न चाहन्छन् भने हाम्रो कानुनअनुसार उनीहरूलाई आरोहण गर्न दिनुपर्छ भन्ने हाम्रो मान्यता छ।’

यो वशन्तमा अन्नपूर्ण आरोहणका लागि एकजना रुसीले अनुमति पाएका छन् भने ८ जना रुसीले ६ हजार ५ सय मिटरभन्दा होचा हिमाल आरोहणको अनुमति लिएका छन्।

यसैगरि नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले भने सरकारबाट यसबारे कुनै निर्देशन नआउन्जेल संघको नीति नफेरिने बताएका छन्। यसपटक सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका ३५ जना युक्रेनी पर्वतारोहीले रुसको आक्रमणपछि अभियान रद्द गरेको पनि बिबिसीले सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पालाई उद्धृत गर्दै जनाएको छ।

तपाईको प्रतिक्रिया