फ्राइडे रिलिजः हलमा तीन फिल्म, दबदबा ‘केजिएफ च्याप्टर २’ को

काठमाडौं । यतिवेला हलमा तीनवटा नयाँ फिल्म प्रदर्शनरत रहेका छन्। बिहीबार रिलिज भएका कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ तथा शुक्रबारदेखि रिलिज भएको हलिउड फिल्म ‘फेन्टास्टिक बिस्ट्सः द सेक्रेट्स अफ डम्बलडोर्स’ प्रदर्शनरत तीन फिल्म हुन्।

हलमा सबैभन्दा धेरै ६० देखि ८० प्रतिशतसम्मको शो ‘केजिएफ च्याप्टर २’ ले पाएको छ। जसमा दर्शकको चाप पनि अत्यधिक देखिएको छ। फिल्मको पहिलो दिनका सबै शो प्रदर्शनमा आउनुभन्दा पाँच दिनअघि नै बुक भइसकेको थियो भने शुक्रबार आइतबारसम्मका अधिकांश शोको प्रिबुकिङ भइसकेको छ।

चार वर्षअघि प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’ को सिक्वेलको रूपमा प्रदर्शनमा आएको फिल्मको क्रेज नेपाल‚ भारत लगायत अन्य देशमा पनि देखिएको छ। फिल्मले पहिलो दिन नै विश्वभरबाट १ अर्ब ३० करोडभन्दा बढीको कारोबार गरेको बताइएको छ। जुन कन्नड फिल्म उद्योगका लागि नयाँ कीर्तिमान हो भने भारतीय फिल्म इतिहासमा तेस्रो ठूलो ओपनर हो।

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा यश राज केन्द्रीय भूमिकामा देखिएका छन् भने सञ्जय दत्त, श्रीनिधि सेट्टी, रविना टण्डन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। ८० करोडमा बनेको च्याप्टर १ ले अर्ब ५० करोडको कमाइ गरेको थियो। च्याप्टर २ को बजेट १ अर्ब आसपास रहेको बताइएको छ।

त्यस्तै ‘ए मेरो हजुर ४’ हलमा दोस्रो ठूलो फिल्मको रूपमा प्रदर्शन भइरहेको छ। फिल्मले तुलनात्मक रूपमा कम शो पाएको छ। जसमा पहिलो दिनका अधिकांश शो हाउसफुल रहेका थिए। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। दुई करोडभन्दा बढी लगानीमा बनाइएको फिल्मले पहिलो हप्ता लगानी सुरक्षित गरेर नाफामा जाने अनुमान गरिएको छ।

झरना थापाको निर्देशनमा बनेको प्रेमकथामा आधारित फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिएका छन्। सुहाना र अनमोलकै मुख्य भूमिका रहेको ‘ए मेरो हजुर ३’ व्यवसायिक रूपमा सफल रहेको थियो। फिल्मले ८ करोडभन्दा बढीको कारोबार गरेको थियो।

डेविड यट्सको निर्देशनमा बनेको फेन्टासी फिल्म ‘फेन्टास्टिक बिस्ट्स’ न्यून शोका साथ प्रदर्शन भइरहेको छ। चर्चित फेन्टासी सिरिज हेरी पोर्टरकी लेखिका जे के रोलिङ्सका पात्रहरूमा आधारित फिल्ममा एडी रेडमेन, जुड ल, एज्रा मिलर, डेन फोग्लर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

यी बाहेक केही हलमा तेलुगु फिल्म ‘आरआरआर’ अझै प्रदर्शनरत छ। भारतको सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा तेस्रो नम्बरमा पुगेकाे ‘आरआरआर’ शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया