चुनावी मैदानमा १ लाख ३७ हजार बढी उम्मेदवार

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या १ लाख ३७ हजार नाघेको छ । देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या १ लाख ३७ हजार नाघेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १ लाख ३४ हजार ४३ जनाको उम्मेदवारी परेको छ । जसअनुसार महानगर पालिकाका प्रमुखमा ३ हजार २ सय ६१ जनाले आवेदन दिएका छन् । यस्तै ३ हजार २ सय ५४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

उपप्रमुख पदमा २ हजार ३ जनाको आवेदन परेको छ । उपाध्यक्ष पदका लागि २ हजार २ सय ९२ जनाको आवेदन परेको छ । वडाध्यक्षको लागि ३२ हजार ५९ जनाले आवेदन दिएका छन् ।

महिला सदस्यमा २३ हजार ३ सय ७५ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा २१ हजार १ सय १५ र सदस्य पदका लागि ४८ हजार ९ सय १० जनाको आवेदन परेको छ ।

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको नामावली प्रकाशन हुने छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया