दैलेख । नेकपा एमाले ठाँटीकाँध दैलेखले निर्वाचन आचारसंहिता मिच्दै चुनावी सभा गरेको छ । मंगलबार आचारसंहिता विपरित एमाले ठाँटीकाँध गाउँपालिका–२ उनीकोट डाँडामा बृहत चुनावी आम सभा गरेकाे हाे ।

एमालेले शक्ति प्रर्दशन गर्ने बहानामा ८-९ वर्षका बालबालिकालाई चुनावी प्रचार–प्रसारमा लगाएर निर्वाचन आचारसंहिताको उल्लघन गरेको छ । निर्वाचन आयोग नेपालद्वारा जारी स्थानीय तह निर्वाचन आचारसंहिता, २०७२ मा बालबालिकासँग प्रत्यक्ष सम्वन्धित बुदाँ नं. ४ (ड) मा उल्लेखित ‘निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ प्रावधान राखेको छ । तर, एमाले ठाँटीकाँधले भने आचारसंहिताको धज्वी उडाएको हो ।

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष रहेका विनोदकुमार शाहको गृह पालिका समेत रहेको ठाँटीकाँधमा बालबालिकालाइ चुनावी प्रचारमा प्रयोग गरिएकाे हाे । शाह प्रमुख अतिथि रहेका बृहत चुनावी आमसभामा साना बालबालिकाहरु चुनावी र्यालीदेखि मञ्चसम्म धेरै मात्रामा रहेको देख्न सकिन्छ ।
एमालेका नारा लगाउँनेदेखि पार्टीको झण्डा समातेर नारामा जिन्दावाद, जिन्दावाद भन्ने बालबालिकाहरु धेरै भएको फोटो तथा भिडिओमा देख्न सकिन्छ । कार्यक्रमा एमाले दैलेख जिल्ला कमिटि सदस्य कर्णबहादुर शाही तथा अन्य नेता कार्यकर्ताले बालबालिकालाई चुनावी नारामा नलाग्न आग्रह गर्नुको साटो उल्टै सभामा लगाएको स्थानीय बताउँछन ।
एमाले ठाँटीकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमारविक्रम शाहीले बालबालिकालाई कुनै पनि नियोजित तरिकाले प्रयोग नगरिएको दावी गरेका छन् । उनले भने, ‘बालबालिका पनि मान्छे त हुन नी ! किन उनीहरुले आफ्नो अधिकार प्रयोग गर्न नपाउँने, बालकालिकालाई पनि रहर हुन्छ, कार्यक्रममा कलाकारहरु आएका हुन्छन, नेताहरु हेर्न पाईन्छ भन्दै सभामा सरिक भएका हुन् । त्यस्तो कुनै गलत तरिकाले प्रयोग गरिएको हैन् ।’
शाहीले निर्वाचन आचारसंहितामा जे जस्तो भएपनि बालबालिकाको इच्छा र चाहाना अनुसार चुनावी सभामा सरिक रहेको जस्तो अभिव्यक्ति दिए । यस्तै, एमाले प्रदेश अध्यक्ष शाहले पालिकाको अध्यक्षमा आफ्नो श्रीमति लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार उठाएका छन् ।








नेपालीरैबार । २०७९ बैशाख २०, मंगलवार