७४९ पालिकाको नतिजा सार्वजनिक हुँदा सातै प्रदेशमा कांग्रेस पहिलो

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौँ महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ ।

कांग्रेस ३२७, एमाले २०५, माओवादी केन्द्र १२१, जसपा ३०, एकीकृत समाजवादी २० र लोसपा १६ पालिकाको नेतृत्व हात पारेको छ । राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, राष्ट्रिय जनमोर्चा २, नेमकिपा १, विवेकशील साझा १, जनता प्रगतिशील पार्टी १, तमलोपा १ र जनमत पार्टी १ गरी साना दलले १४ पालिका प्रमुख जितेका छन् भने स्वतन्त्र उम्मेदवारले १६ पालिका प्रमुख/अध्यक्ष जितेका छन् ।

कांग्रेस ७ वटै प्रदेशमा पहिलो दल बन्न सफल भएको छ । अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरको त्रियुगा नगरपालिका छ । जहाँ नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । बागमती प्रदेशको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् ।

लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। यस्तै बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ । यहाँ विवादका कारण अझै मतगणना सुरू हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया