बाँकेमा जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार, सात जना पक्राउ

बाँके । बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने (प्रेमी) बाँके बैजनाथ गाउँपालिका–८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्।

पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन्। विक्रान्त थारु, निराजन थारु, राजकुमार थारु र विश्वनाथ थारु १८ वर्ष माथिका हुन्।

उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट आइतबार दिनभर खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए।

मानखोला जंगल बाँके र बर्दियाको सिमानामा पर्छ।

प्रहरीका अनुसार ती किशोर र ती किशोरीको बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो।

ती किशोरले करकाप गरेपछि किशोरी मानखोला जंगलमा सार्वजनिक बस चढेर पुगेकी थिइन्। त्यहाँ पुगेपछि ती किशोरीलाई शनिबार बेलुकीपख किशोर र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे।

बढैयाताल घुमेर फेरि उनीहरू मानखोला जंगलको फूलबारी भन्ने ठाउँमा पुगे। त्यसपछि उनीहरूले घरेलु मदिरा सेवन गर्दै जन्मदिन मनाउन थाले।

ती किशोरीलाई पनि करकाप गरी मदिरा सेवन गर्न लगाए।

जब किशोरी मदिराले लठ्ठीइन्, त्यसपछि उनीमाथि किशोरसहित उनका साथीले सामूहिक बलात्कार गरे।

किशोरी बेहोस भइन्। त्यसपछि शनिबार मध्यरातमा अर्धचेत अवस्थाकी किशोरीलाई मोटरसाइकलमा राखेर बाँके बैजनाथ गाउँपालिका–८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फार्ममा पुर्‍याए।

अर्धचेत अवस्थाकी ती किशोरीमाथि फेरि त्यहाँ बलात्कार थयो।

त्यसपछि उनीहरू जोगिन किशोरीलाई गाउँ छोड्ने योजना बनाए।

यसरी खुल्यो सामूहिक बलात्कारको तथ्य

अर्धचेत अवस्थाकी किशोरीलाई घर पुर्‍याउन भनेर विक्रान्तको आग्रहमा उनकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकल प्रयोग गरियो।

मोटरसाइकलको बीचमा अर्धचेत अवस्थाकी किशोरीलाई राखेर दुई किशोर आइतबार बिहान चार बजे हुइँकिएका थिए।

उनीहरू नेपालगन्ज– गुलरिया सडक खण्डमा गुडिरहेका थिए। उढरापुरमा ड्युटीमा रहेको प्रहरीले तीन जना सवार र बीचमा बसेकी किशोरीलाई अर्धचेत अवस्थामा देखेर रोक्यो ।

सुरूमा मोटरसाइकल चालक र किशोरीलाई पछाडि बसेर समातेका युवाले उनी बिरामी रहेको भनेर प्रहरीलाई झुक्याउन खोजे। तर, ड्युटीका प्रहरीले थप प्रश्नहरू सोधेपछि उनीहरू अनकनाए। जवाफ दिने सकेनन्।

प्रहरीले मोटरसाइकलसहित तीनै जनालाई प्रहरी कार्यालयमा पुर्‍यायो । किशोरीको चेत खुलेपछि उनले आफूमाथि भएको घटनाको बेलिविस्तार लगाइन्।

उनको बयानका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बलात्कार आरोपित सबैलाई पक्रन सफल भएको डिएसपी न्यौपानले बताए।

किशोरीको बयानका आधारमा विक्रान्तको बंगुर फार्ममा समेत पुगेर प्रहरीले केही प्रमाण संकलन गरेको जानकारी दिएको छ।

किशोरीको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि आवश्यक कानुनी कारवाही सुरू हुने प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरूद्ध जबर्जस्ती करणी आरोपमा अनुसन्धान जारी रहेको डिएसपी न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया