नक्कली जग्गाधनी प्रकरण : मालपोतका कर्मचारीसहित १३ जनालाई कैद र जरिवानाकाे फैसला

सुर्खेत । जग्गा धनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले कसुर ठहर गरेर कैद र जरिवानाको फैसला गरेको छ । अदालतका न्यायाधीस डा. राजेन्द्रकुमार आचार्यको एकल ईजलासले मालपोत कार्यालय सुर्खेतका ६ जना कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद र जरिवाना फैसला गरेको हो ।

मालपोत कार्यालयका सुब्बा विश्वरुप सावत, कम्प्युटर शाखामा कार्यरत खरिदार गणेश विक, कृष्णबहादुर थापा, दिपेन्द्र श्रेष्ठ, सुनील राना र तिर्थराज महतारालाई एक वर्ष कैद र २० हजार जरिवाना फैसला गरेको अदालतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले नेपालीरैबारलाई जानकारी दिए । तर रानाकाे निधन भइसकेकाे छ । उनकाे हकमा हकवालाले जरिवाना तिर्न नपर्ने फैसलामा उल्लेख छ ।

श्रेस्तेदार पौडेलकाअनुसार वीरेन्द्रनगर–१२ नम्बर वडा कार्यालयका तत्कालिन वडाध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई अदालतले किर्ते कसुर ठहर गरेको थियो । दुवै जनालाई नौ महिना कैद र १५ हजार जरिवाना फैसला भएको श्रेस्तेदार पौडेलले बताए ।

नक्कली जग्गाधनी बनाइएका वीरेन्द्रनगर–३ का सहवीर कार्कीलाई एक वर्ष कैद र २० हजार जरिवना गरिएको छ । तर उनी जेष्ठ नागरिक भएकाले जेष्ठ नागरिक ऐनअनुसार २५ प्रतिशत मात्रै कैद र जरिवाना फैसला गरिएको छ । छुटअनुसार उनले नौ महिना र १५ हजार जरिवाना तोकिएको छ । तर उनी मंगलबार नै रिहा भएका छन् ।

वीरेन्द्रनगर–६ का अमर सिंह कटुवाललाई तीन महिना र ३० हजार जरिवाना तोकिएको छ । जग्गा प्रकरणका मुख्य अभियुक्त रहेका वीरेन्द्रनगर–६ गणेश चौकका सन्तोष ठाकुर, वीरेन्द्रनगर–५ चिसापानीका निर्मल पुरी, वीरेन्द्रनगर–२ का गोरख भन्ने गणेश बुढालाई भने ठगी र किर्ते दुवैमा कसुदार रहेको अदालतको फैसलामा उल्लेख छ ।

दुवै मुद्दामा तीनै जनालाई ठगीतर्फ दुई वर्ष र २५ हजार जरिवाना तथा किर्तेमा एक वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरिएको श्रेस्तेदार पौडेलले बताए । यहीँ असार २२ गते अदालतले मुद्दा दायर गरिएका १९ जनामध्य १३ जनालाई किर्ते र ठगीमा दोषी ठहर गरेको थियो । अदालतले मंगलबार उनीहरुको सजाय निर्धारण गरेको हो ।

किर्ते तथा ठगी गरेको मुद्दामा मालपोतका तत्कालिन प्रमुख लक्ष्मी खत्री, सुब्बा कमला सापकोटा, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, खरदार दीपेन्द्र पुलामीसहित ६ जनाको जग्गा कीर्ते र ठगीमा संलग्नता नदेखिएकाले अदालतले सफाई दिएको थियो । वीरेन्द्रनगरका सौगात रावतको नाममा दर्ता भएको वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क) मा रहेको जग्गा अर्कैको नाममा नामसारी गरिएको हो ।

कित्ता नं ३१११ को जग्गा थाहै नदिएर वीरेन्द्रनगर–१ बस्ने सहविर कार्कीको नाममा जग्गा विक्री गरिएको हो । ६ कठ्ठा क्षेत्रफल भएको जग्गाको पिठाड छोडेर मुल सडकबाट ५० मिटर मोहडामा पर्ने जग्गा  २०७७ असार १० गते ठाकुरले कार्कीको नाममा नामसारी गरेको जग्गा धनीले थाहा पाएपछि न्यायका लागि अदालतमा मुद्दा दर्ता गरेका हुन् । ठाकुरसहितले कार्कीका नाममा राजिनामा लिखत पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित १९ जना जग्गा प्रकरणमा मुछिएका थिए ।

https://www.facebook.com/nepaliraibar2077/?ref=pages_you_manage

तपाईको प्रतिक्रिया