एनआईसी एशिया क्यापिटलको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा भएको साधारणसभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गरिएको छ।

वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ। साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आव २०७८/०७९ मा रु. १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रतिशेयर आम्दानी ६० रुपैयाँ ३९ पैसा कायम गरी सञ्चालमा रहेका मर्चेण्ट बैंक मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए।

उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित ५ वटा योजना सञ्चालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५७३ जना ग्राहकबाट रु.१ अर्व ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको बताए।

साथै क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत उनले जानकारी दिए।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाइको खरिद पुनः खरिद तथा लगानी व्यवस्थापन सेवासमेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ।

क्यापिटलले प्रदान गर्ने सेवालाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र किर्तीपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ।

साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति रहेको जनाएको छ। क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्गसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ।

साथै एन आई सी एयिशा बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डमा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान र सिस्टमेटिक विथड्रल प्लान सञ्चालन गर्न लागेको छ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि आसय पत्र प्राप्त गरिसकेको र यथाशीघ्र विशिष्टीकृत लागनी कोष अन्तर्गत प्राइभेट इक्विटी/भेन्चर क्यापिटल सेवा प्रदान गर्ने योजना रहेको छ।

तपाईको प्रतिक्रिया