निर्माण व्यवसायी सुर्खेत अध्यक्षमा भारी मतले खड्का विजयी

सुर्खेत। नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षा पदमबहादुर खड्का भारी मतले विजयी भएका छन्। निर्माण व्यवसायी नयाँ नेतृत्वका लागि आइतबारभएको निर्वाचनमा खड्काले १८६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको मतमा खड्काले १८६ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जिसीले ४९ मत प्राप्त गरेका छन्। दुई सय ८० मतदातामा दुई सय ४५ मत खसेको थियो।

को हुन् खड्का?

खड्का दैलेख जिल्ला साविकको छिउडी पुसाकोटमा २०३६ सालमा जन्मिएका हुन्। छिउडी डाँडामा रहेको जयदेवी प्राविमा अक्षर चिन्नुका खड्का ०३९ सालमा बुवा (शंकरबहादुर खड्का) संग सुर्खेत बसाइँ सरेका थिए।

खड्काले बाल्यकालका पाँच वर्ष कलिलो मस्तिष्कले जन्मभूमि छिउडी हो भन्ने जानकारी राख्न बाहेक अन्य केही ठम्याउन सकेन्। सुर्खेत झरेपछि खड्काको बाँकी पढाइको यात्रा रोजल्याण्ड बोर्डिङ्गबाट शुरुभयो। चार कक्षासम्म सुर्खेतमै पढेपनि बाँकी पढाई काठमाडौंस्थित भानुभक्त मेमोरियल बोर्डिङ स्कुलबाट शुरु भयो।

‘मध्यम वर्गिय परिवारमा हुर्किएकाले पढ्नमा कुनै समस्या थिएन्’ खड्काले भने ‘बुवाको पुख्र्यौली व्यापार र दाजुले शुरु गर्नुभएको निर्माण व्यवसाय ऊ बेला राम्रै थियो। जति उहाँहरुले संघर्ष गर्नुभयो त्यो बेला मैले केही गर्नै पर्थेन्। त्यसैले मलाई दाजुले जहिले पनि भन्नुहुन्थ्यो एसएलसीमा राम्रो नम्बर ल्याइस भने डाक्टर पढाउँछु पदम।’

घरको कान्छो छोरा भएकाले परिवारको माया ममता बढी पाउने खड्का एसएलसीमा राम्रै नम्बर ल्याउने गरी पढेका थिए। अफसोच! डाक्टर बन्नका लागि एक नम्बर मात्रै अपुगहुँदा डाक्टर पढ्ने सपना सदाको लागि अन्त्य भयो। उनले भने, ‘दाजुको सपना पूरा गर्न नसकेकोमा दुःख लाग्छ, तर कोशिस गरेकै थिए राम्रो नम्बर ल्याउन सकिन्।’

डाक्टर बन्ने सपना सदाका लागि अन्त्य भए पनि परिवारबाट हौसला पाएपछि उच्च शिक्षा पढ्न सुर्खेत फर्किएको खड्काले बताए। बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा थप पढाई शुरु गरेका उनको प्लस टू सकेपछि पढाईमा ब्रेक लाग्यो।

यसरी शुरू भयो खड्काको व्यवसायी यात्रा

खड्काको बुवाको छिउडीमा प्रधानपञ्चहुँदादेखि नै व्यवसाय थियो। सुर्खेत बसाईँ सरेपछि पनि वीरेन्द्रनगरमा शंकर स्टोर ०५३ सालबाट शुरु भइसकेको थियो। उनका दाजु त्यो बेला निर्माण व्यवसायमा लागिरहेकाले बुवाले सञ्चालन गरेको व्यवसाय आफूले हेर्दै आए।

०६३ सालसम्म त्यहीँ व्यवसायमा आवद्ध रहेका उनले त्योबीचमा देशमा चलेको सशस्त्र द्वन्द्वको मारमा आफ्नो व्यवसाय परेको थियो। ‘प्रत्यक्ष रुपमा द्वन्द्व आँखै अगाडी नियाले। बुलबुले आयल स्टोर परिसरमा रहेको तेल, चामल र पिठो उद्योगमा बम विष्फोट भयो विस्तारै गति लग्दै गरेको व्यवसाय त्यहीँ घटनाले सदाका लागि बन्द गरिदियो’ उहाँले थप्नुभयो, ‘द्वन्द्वका कारण भौतिक संरचनामै ठूलो क्षति पु¥याएको थियो।’

उनले थपे, ‘०५९ सालमा स्थापना भएको बुलबुले आयल स्टोर पनि द्वन्द्वका कारण प्रभावित भयो। व्यापार व्यवसाय प्रायः बन्द हुने अवस्थामा पुग्यो तर, शंकर स्टोर्स भने जेनतेन चलिरहेकै थियो। २१ वर्षकै उमेरमा बुवा गुमाएपछिको अभिभाकत्व दाजु (सूर्य) हुनुहुन्थ्यो। उहाँकै प्रेरणाबाट बाँकी जीवनले सार्थकता पाए।’

०६३ सालमा दाजु अलग भएपछि खड्काले आफै ठेक्कापट्टाको काम आरम्भ गरे। ०६३ सालमा नेपाली सेना, नेपाल प्रहरीको रासन ढुवानी गर्ने ठेक्का लिए। एकल लगानीमै निर्माण व्यवसायी बन्ने अठोट लिए। काम गर्दै जाँदा ०६७ सालमा बुवाको नामबाट शंकर कन्ट्रक्र्सन फर्म शुरु गरे। विस्तारै सडक कार्यालयका साना कामहरुमा गर्न थाले।

निर्माणको काम पाएपछि अनुभवहुँदै जाँदा ०७० सालमा फर्मलाई बढाउँदै श्याम एण्ड शंकर कन्ट्रक्र्सन बनाए। हाल त्यहीँ कामलाई निरन्तरता दिएका छन्। अहिले फर्मलाई जेभीमा पु¥याएर निर्माणको काम गरिरहेका छन्।

खड्काले गरेका सहयोग र जोडिएका संस्था

सानैदेखी खेलकुदमा रुची राख्ने खड्का फुटबल खेलमा शौखिन थिए। ऊ बेला जिल्लास्तरीय प्रतियोगितामा नेपालगञ्जसम्म सहभागी भएको त्यो पल अझै सम्झन्छन्। ०५६ सालदेखि क्रिकेट संघ सुर्खेतको संस्थापक अध्यक्ष बने। उनि होराइजन बोर्डिङ स्कुलका संस्थापक सदस्य तथा सुर्खेत बहुउदेश्यीय सहकारीका संस्थापक सदस्य समेत बने।

वृद्धाश्रममा पाँच लाख, गुम्बा निर्माणमा ५० हजार, बड्डीचौरमा मन्दीर निर्माणमा एक लाख सहयोग प्रदान गरिसकेका छन्। उनले भने, ‘कमाउनु मात्रै ठूलो हैन कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्दा आत्मसन्तुष्टि प्राप्त गर्छु।’

खड्का हेभी इक्युपमेन्टको राष्ट्रिय उपाध्यक्ष तथा निर्माण व्यवसायी एकता समाज सुर्खेतको बरिष्ठ उपाध्यक्षहुँदै आइतबार भएको निर्वाचनबाट निर्माण व्यवसायीको सुर्खेत अध्यक्ष बन्न सफल भएका छन्।

तपाईको प्रतिक्रिया