निर्वाचन आयोगमा ७६ दल दर्ता, राष्ट्रिय दल बन्ने सम्भावना कसकाे कति?

काठमाडौं। निर्वाचन नजिकिएसँगै मंसिर ४ को निर्वाचनपछि कतिवटा राष्ट्रिय दल बन्छन् भन्ने विषयमा चर्चा हुन थालेको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५२ राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था गरेको छ। त्यसका लागि प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा सदर मतको तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दल बन्न पाउनेछन्।

चालु संसदमा ६ वटा दल राष्ट्रिय दल रहेका छन्। तत्कालिन निर्वाचनमा बाबुराम भट्टराई, राजेन्द्रप्रसाद लिङ्देन र प्रेम सुवालको पार्टीले ३ प्रतिशत मत ल्याउन नसकेर राष्ट्रिय दल नबनेकाले उनीहरू स्वतन्त्र सांसदको हैसियतमा छन्। वैशाखको निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेका थिए। आसन्न निर्वाचनमा करिब ५ लाख थपिन सक्ने अनुमान आयोगले गरेको छ। वैशाखको निर्वाचनमा १ करोड १५ लाख ४० हजार ०३८ ले मतदान गरेका थिए। यो करिब ७०.९६ प्रतिशत हो।

वैशाखमा सम्पन्न स्थानीय तहमा दलहरूले उठाएका वडाअध्यक्षले प्राप्त मतलाई ऐनले व्यवस्था गरेको प्रावधानसँग तुलना गर्ने हाे भने ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलको संख्या आसन्न निर्वाचनपछि ६ वटामात्र रहन सक्छन्।

स्थानीय तहको निर्वाचनमा कांग्रेस वडाअध्यक्ष उम्मेदवारले ३९ लाख ५६ हजार १९३ मत पाएको छ। यो कुल मतको करिब ३४ प्रतिशत हो। यस्तै एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ। यो करिब ३३ प्रतिशत मत हो। यस्तै माआवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ जो १३ प्रतिशत वरिपरि हुन आउँछ। त्यस्तै, जनता समाजवादीले ५ लाख ७७ हजार ३८० मत प्राप्त गरेको छ यो करिब ५ प्रतिशत हुन आउँछ।

यस्तै, एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ प्राप्त गरेको छ जो करिब ३.५० प्रतिशत हुन्छ। र राप्रपाले ३ लाख ६४ हजार १६० मत प्राप्त गरेको छ जुन ३.१५ प्रतिशत आसपास हुन्छ। यी बाहेक लोकतान्त्रिक समाजवादी पार्टीले ३ प्रतिशत पनि पुर्याएको छैन। उसलाई आसन्न निर्वाचनमा ३ प्रतिशत कटाउनु पर्ने बाध्यता रहनेछ।

वैशाखको निर्वाचनमा दलहरू केहि स्थानमा वडास्तरमा गठबन्धन गरेर निर्वाचनमा सहभागी भएकोले उपरोक्त वडाध्यक्षको मतमा केहि फरक भने पर्न सक्छ। यी बाहेक अन्य नयाँ दलहरू पनि मंसिरको निर्वाचनमा सहभागी हुनेछन्। परम्परागत दलभन्दा नयाँ बन्ने भनेर आएका दलहरूले कतिको मतदातालाई प्रभावमा पार्छन्, त्यहि अनुसार राष्ट्रिय दल बन्ने सम्भावना रहन्छ।

तपाईको प्रतिक्रिया