भारतबाट घटेर आयो डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य

काठमाडाैँ । भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ। शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले बतायो।

डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ। नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ।

यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरेको थिएन। यो समेत चौथोपटक भारतबाट लगातार इन्धनको मूल्य घटेर प्राप्त भएको हो। अब इन्धनको नयाँ उपभोक्ता मूल्य समायोजनबारे भने निगम सञ्चालक समिति बैठकले निर्णय गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया