अछाम पहिरोमा परि १२ काे मृत्यु, ११ जना बेपत्ता

अछाम । अछाममा अविरल वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६, वडा नम्बर ८, ढकारी गाउँपालिका–६ र तुर्माखाँद गाउँपालिका ६ मा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनका अनुसार अझै ११ जना बेपत्ता छन्। कमलबजार नगरपालिका–६ मा पहिरोमा परेका १४ जनामध्ये ४ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए। यस्तै त्यहाँ ३ जना बेपत्ता छन्।

कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा पहिरोमा परेका ६ जनामध्ये ५ जनाको शव भेटिएको छ। त्यहाँ एक जनाको उद्धार गरिएको छ।

ढकारी गाउँपालिका–६ मा पहिरोमा परेका ५ जनामध्ये एक जनाको शव भेटिएको छ भने एक जना बेपत्ता छन्। ३ जनाको सकुसल उद्धार गरिएको छ।

तुर्माखाँद गाउँपालिका–५ मा पहिरोमा परेका ९ जनामध्ये २ जनाको शव भेटिएको छ भने अन्य बेपत्ता ७ जनाको खोजी भइरहेको छ।

 

तपाईको प्रतिक्रिया