डेंगी नियन्त्रणका लागि सचेतना

सुर्खेत । देशभर महामारीको रुप लिदै गएको ब्रेकबोन फिभर अर्थात डेंगी ज्वरोको जोखिम बढेको भन्दै वीरन्द्रनगर नगरपालिकाले डेंगु सार्ने एडिज लामखुट्टेको लार्भा खोजी तथा नष्ट अभियान सुरु गरेको छ।

शनिबार सफा र हरियाली सुर्खेत अभियान अन्तर्गत जनस्वास्थ्य सेवा कार्यालयको समन्वय र वीरेन्द्रनगर नगरपालिका, सुर्खेत उद्योग वाणिज्य संघ, क्लिन एण्ड ग्रिन सुर्खेतको आयोजनामा दशैं सरसफाई उत्सव गरिएको हो।

मंगलगढी चोकदेखि सुरु भएको सरसफाई अभियान मुख्य बजार क्षेत्र हुँदै गणेश चोकसम्म पुगेको थियो। कार्यक्रममा बजार क्षेत्रमा सरसफाई, व्यवसायी तथा नागरिकलाई डेंगीका बारेमा जानकारीका साथै जथाभावी फोहोर नगर्न सुचित गरिएको थियो।

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले जथाभावी फोहोरका कारण डेंगी संक्रमणको जोखिम बढेको भन्दै जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको बताइन्। डेंगी नियन्त्रणमा नगरपालिका एक्लैको प्रयासले सम्भव नहुने भन्दै आम नागरिकले पनि यसबाट बच्ने उपाय अपनाउन आवश्यक रहेको ढकालको भनाई छ।

डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण वा रोग हो। डेंगीका कारण उच्च ज्वरो आउने, टाउँको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ। डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ। डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ। यो संक्रमण फ्लेविविरिडे परिवार डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी, ४ भाइरसको सेरोटाइपको कारणले हुन्छ।

तर, यी भाइरस १० दिनभन्दा बढी बाँच्दैनन्। जब डेंगी संक्रमण गम्भीर हुन्छ। डेंगी रक्तस्रावी ज्वरो वा हेमोरेजिक ज्वरो वा डीएचएफ हुने जोखिम बढ्छ। यसले अत्यधिक रक्तस्राव भई पीडितको मृत्युसमेत हुन सक्छ। कर्णलीमा हालसम्म २ सय ३० जनामा डेंगीको संक्रमण पुष्टी भएको छ।

तपाईको प्रतिक्रिया