विश्वकप फुटबल खेलाउने पहिलो महिला रेफ्री बनिन् स्टेफनी फ्रापाट

काठमाडौं । फिफा विश्वकप अन्तर्गत बिहीबार राति भएको जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले सञ्चालन गरेका छन्। पुरुष विश्वकपमा मुख्य र सहायक दुवैतर्फ महिला रेफ्रीको टिमले जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक हो।

समूह ‘ई’ अन्तर्गत जर्मनीले कोस्टारिकालाई ४–२ गोल अन्तरले हरायो। कोस्टारिकालाई हराए पनि जापानसँग हारेको जर्मनी समूह चरणबाटै बाहिरिएको छ। यो खेलमा रेफ्री स्टेफनी फ्रापाट, सहायक रेफ्री न्युजा ब्याक र कारेन डियाजले खेलाएका थिए। यो खेल सञ्चालन गरेसँगै फ्रेन्च रेफ्री फ्रापाट पुरुष विश्वकप खेलाउने पहिलो महिला रेफ्री बनेकी छन्।

उनको नेतृत्वमा ब्रजिलियन न्युजा ब्याक र मेक्सिकन कारेन डियाजलाई सहायक रेफ्रीको रुपमा विश्वकपमा डेब्यू गरे। ३८ वर्षीया फ्रापाटले समूह ‘सी’ अन्तर्गत मेक्सिको र पोल्यान्डबीचको खेलमा पनि फोर्थ अफिसियलको जिम्मा पाएकी थिइन्।

उनी २०२० मा च्याम्पियन्स लिग र विश्वकप छनोटका खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्रीसमेत हुन्। विश्वकपमा उनीसहित रुवान्डाकी सलिमा मुकान्सङ्गा र जापानकी यमाशिता योसिमी कतार विश्वकपमा छनोट भएका महिला रेफ्री हुन्।

फिफाले ३६ सदस्यीय रेफ्री टोलीमा ३ रेफ्री र २ सहायक रेफ्री गरी ५ महिलालाई छनोट गरेको छ।

तपाईको प्रतिक्रिया