बड्डीचौर–खम्बागाडे सडक तत्काल विस्तार गर्न माओवादीको अनुराेध

सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौर खम्बागाडे सडक विस्तार र निर्माणकार्यलाई रोक्ने डिभिजन वन कार्यालय सुर्खेत भेरी कार्यालयको रवैयाप्रति माओवादी आक्रोशित बनेको छ। माओवादी केन्द्र पञ्चपुरी नगरपालिका नगरकमिटि अध्यक्ष केशव शाहीले एक विज्ञप्ती जारी गर्दै सडक विस्तार कार्यमा राजनीति नगर्न चेतावनी समेत दिएका छन्।

शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा करिव तीन दशकदेखिको व्यग्र प्रतीक्षा पश्चात् पक्की सडकमा हिड्ने सपना साकार हुने क्रममा बड्डीचौर खम्बागाडे खण्डको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास निर्देशनालय र खम्बागाडे– बाबियाचौर– बिधापुर खण्डको १० किलोमिटर सडक संघीय सरकार अन्तर्गतको सडक विभाग मार्फत बोलपत्र आह्वान भई छनौट भएका निर्माण कम्पनीहरुले आ–आफ्नो क्षेत्रमा सडक बिस्तार र निर्माणकार्य संचालन गरेको दाबी गरेका छन्।

उनले पछिल्लो केही समयदेखि विभिन्न बहानामा, छदम विकास बिरोधि तत्त्वहरुको षड्यन्त्रमा डिभिजन वन कार्यालय सुर्खेत भेरीले कथित वन ऐन कानुनको हवला दिदैं द्रुतगतिमा अघि बढीरहेको सडक विस्तार र निर्माणकार्यलाई रोक्ने जस्तो विकास विरोधी तथा जनविरोधी कार्यप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पञ्चपुरी नगर कमिटी, सुर्खेतको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन।

‘पश्चिम सुर्खेतका जनताको विकास र समृद्धिको प्रस्थान बिन्दुको रुपमा रहेको सडक कालोपत्रे योजनालाई फेरि पनि विलम्ब गरि अलपत्र पार्ने विकास विरोधी तत्वहरुको हर्कतप्रति कडा आपत्ति प्रकट गर्दै तत्काल सडक निर्माण कार्य सुचारु गर्ने वातावरण तयार गर्न यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय हृदयराम थानी, कर्णाली प्रदेश सभा सदस्य माननीय बिन्दमान बिष्ट, पञ्चपुरी नगरपालिका, बराहताल गाँउपालिका र डिभिजन वन कार्यालय सुर्खेत भेरी समक्ष जोडदार माग गर्दछौं अन्यथा यस क्षेत्रका आक्रोशित न्यायप्रेमी जनसमुदायको साथमा सशक्त आन्दोलन गर्न बाध्य हुने व्यहोरा सम्बन्धित सबैलाई यसै प्रेस विज्ञप्ति मार्फत सचेत गराउदछौं ।’ उनले भनेका छन्।

तपाईको प्रतिक्रिया