संघर्षरत कर्णालीका आमाको कथा बोल्ने ‘शून्यको मूल्य’


सुर्खेत। सुर्खेतको हिलेखालीमा डा. नवराज केसी चौथो बच्चाको रूपमा जन्मिँदा मात्र १ केजीका थिए। १ किलो शिशु भएर जन्मिएका केसीलाई देखेर उनको परिवारमा रुवाबासी नै चल्यो। के कारण १ केजीको जन्मियो होला भन्दै भगवान्सँग बिलौना गरे। हेराइ–खोजाइ गरे। उनी बाँच्दैनन् भनेर सबैले मन मारे। तर वात्सल्यकी खानी आमा, जसले साह्रै दुःख र साहसका साथ छोरालाई बचाउन लागिन्। भयो पनि त्यस्तै। आमाको स्याहारसुसार र स्नेहले उनी बाँचे। उनको हुर्काइमा कुनै कसर छाडिनन् आमाले। त्यसपछि विस्तारै उनी स्कुल जाने भए।

‘तेरो जिन्दगी नै बोनस हो। डाक्टर अभावमा पनि आमाले तँलाई बचाउन र हुर्काउन कुनै कसर छाडिनन्। अब तँ डाक्टर भएर अरूलाई बचाउनुपर्छ’, उनले बुझ्ने भएपछि बुबाले भनेको कुरा दोहोर्‍याए।

बुबाले भनेजस्तै केसीले डाक्टरी पढ्न रुचि देखाए। डाक्टरी पढ्ने दिनमा पनि उनको दिमागमा बुबाले भनेका कुरा गुन्जिरहन्थे। त्यसैलाई पछ्याएर उनले डाक्टरी पढे। उनी बुबाको सपनालाई साकार पार्दै डाक्टर भइछाडे। जन्मथलो कर्णाली क्षेत्रमा सेवा गर्न सात वर्ष अगाडि सुर्खेतस्थित प्रदेश अस्पतालमा बालरोग विशेषज्ञका रुपमा पुगे।

‘आफू डाक्टर भएर आएपछि १ केजीको बच्चा बचाउन साह्रै गाह्रो रहेछ भन्ने थाहा पाएँ। आमाको स्याहार–सुसारका कारण त्यो समय बाँचे’, उनले आफू बाँचेको आश्चर्य सुनाए।

डाक्टर भएर कर्णाली पुगेका केसी ४० वर्षअघि जन्मिएको समाज अझै पनि कर्णालीमा रहेको बताउँछन्। उनले आमाहरू अझै पनि १ केजीको बच्चा हुर्काउन रातदिन संघर्ष गरेको देखे। उनलाई सुर्खेतका बालबालिकालाई हुर्काइरहेका आमाहरू उस्तै लाग्छ उनलाई । ती पात्रहरू उनलाई आफ्नै आमाजस्तो लाग्यो। अस्पतालमा उपचार गर्न आउने बिरामी आमा र बच्चाहरू आफ्नै बाल्यकालको झल्को बोकेर आएको देख्छन् उनी। ती पात्रले समाजको दर्दनाक कथा मात्रै भनेनन्, समाजको वास्तविक ऐना देखाए। कर्णालीका दुर्गम गाउँबाट अस्पताल आउने बिरामी आमा र बिरामी बच्चाहरूले केसीलाई जीवनको महत्त्वपूर्ण पाठ सिकाए। उनले त्यो सिकाइ विश्वविद्यालयमा कहिल्यै पढ्न पाएनन्।

‘बिरामीका रूपमा आउने ती पात्रले मलाई केही न केही सिकाइरहेका थिए। विश्वविद्यालय पढेको भएर पनि आफूलाई ठूलै लागेको थियो तर होइन रहेछ। डिग्री गरेको भ्रम टुट्यो। ती पात्र मभन्दा पनि ठूला कुरा सिकेका रहेछन् जीवनमा’, केसीले प्रदेश अस्पतालमा कार्यरत हुँदाको सुरुआती अनुभव सुनाए, ‘जीवनमा प्रोफेसन मात्रै बुझेर हुँदो रहेनछ। विद्यावारिधि मात्रै जानेर पुग्दो रहेनछ। जीवनवारिधि बुझ्नुपर्दो रहेछ।’

उनलाई एउटा पूर्ण जीवन बुझ्नका लागि समाजै बुझ्नुपर्छ र समाजका असली पात्रसँग संगत गर्नुपर्छ भन्ने लाग्यो। अनि, संगत गरे बिरामीसँग डाक्टर भएर। आमाको बिरामी छोरा भएर। पढ्न रहर हुँदाहुँदा पनि स्कुल जान नपाएको बालक भएर। बिरामीको विश्वासिलो साथी भएर। नयाँ पुस्ताले कर्णाली बुझोस् भन्ने लागेर उनले लेखे, सिर्जनात्मक गैरआख्यान पुस्तक ‘शून्यको मूल्य’, आज शनिबार विमोचन हुँदै छ।

सुर्खेतमा १० कक्षासम्म पढेका डाक्टर केसीले काठमाडौंको निस्ट कलेज प्लस टु सकाए। डाक्टरी पढ्न नाम निकालेपछि नेपालगन्ज मेडिकल कलेजमा डाक्टरी विषय पढे। पढा सकेर दुई वर्ष काम गर्न काठमाडौं आए। यस्तैमा फिलिपिन्स गएर बालरोग विशेषज्ञता हासिल गरे। तीन वर्षपछि फिलिपिन्सबाट फर्किएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पढाउन थाले। चार महिना पढाएपछि आफ्नै थातथलो कर्णाली फर्किए। उनी सुर्खेत पुगेपछि बाल्यकालमा देखेको अभाव र अहिले भेटेको पात्रमा खासै परिवर्तन देखेनन्। जब समाज र समाजका पात्रहरू भेटे अनि उनको मनमा भूकम्प गयो। त्यसपछि सिर्जिए, शून्यको मूल्य। ‘पोलिसी मेकरले पनि केही कुरा सिकून् भन्ने लागेर शून्यको मूल्य लेखेको हुँ’, उनले भने।

  • डा. केसीलाई पूर्ण जीवन बुझ्न समाजै बुझ्नुपर्छ र समाजका असली पात्रसँग संगत गर्नुपर्छ भन्ने लाग्यो। त्यसैको फलस्वरुप संगत गरे बिरामीसँग डाक्टर भएर। आमाको बिरामी छोरा भएर। पढ्न रहर हुँदाहुँदा पनि स्कुल जान नपाएको बालक भएर। बिरामीको विश्वासिलो साथी भएर। अनि, जन्माए( नयाँ पुस्तालाई कर्णाली बुझाउने खुराक शून्यको मूल्य।

शून्यको मूल्य किताबका लेखक डा. केसी सुर्खेतको प्रदेश अस्पतालमा सात वर्षदेखि कार्यरत भई काम गर्दा भेटेका पात्रको कथा भन्न कर्णालीबाट काठमाडौं आएका छन्। कर्णालीका स–साना बालबालिकाका कथा लिएर आएका छन्। कर्णालीका आमाले आफ्ना आफूलाई बचाउन गरेको दुःखको एक अनुभव उनले सुनाए।

आजभन्दा सात वर्षअघि सुर्खेतको प्रदेश अस्पतालमा कार्यरत हुँदा ‘भेडिनी कान्छी’ महिला भेटेका थिए, उनले। शून्यको मूल्य किताबमा यो तेस्रो कथा हो। उनी सिकिस्त बिरामी छोरो लिएर आएकी थिइन् औषधी गर्न। उनको उपचार गरे डा. केसीले। बिरामीलाई सन्चो पनि बनाए।

‘कहिलेसम्म पुग्नुहुन्छ घर’, डिस्चार्जको क्रममा केसीले सोधेका रहेछन् भेडिनी कान्छीलाई।

‘घर जान त एक महिना लाग्छ’, बिरामी छोरोलाई हेर्दै भनेकी रहिछिन् भेडेनी कान्छीले।

डिस्चार्ज भएर घर फर्किन एक महिना लाग्ने त्यति टाढा कुन ठाउँ होला भन्ने कुतूहल लागेर डा।केसीले सोधेछन्, ‘किन एक महिनारु’

‘उपचारमा पैसा सबै सकियो। अब काम गर्नुपर्‍यो, भाडा खर्च बनाउनुपर्‍यो अनि घर जाने’, भेडेनी कान्छीले भनेकी रहिछन्।

त्यो परिवार हुम्लाबाट आएको थियो। आफ्ना भएका सबै भेडा बेचेर हेलिकोप्टर चार्टर गरेर औषधी गर्न आएकी थिई् भेडेनी कान्छी र बिरामी छोरा। श्रीमान् भारत कमाउन गएकाले उनैले छोरो बचाउन रातदिन संघर्ष गरिन्।

शिक्षा प्राविधिक भयो भने शिक्षित मान्छे पनि प्राविधिक हुन्छ। प्राविधिक मान्छे असामाजिक हुन्छ। उसले भावनात्मक कुरालाई गौण ठान्छ। उसको चेतनामा भोटे ताल्चा लाग्छ। परिणाम कमजोर आयस्तरबाट गुज्रिरहेको समाजको जाकोही मान्छे जीवनमा एकपल्ट अस्पतालमा उपचार गर्न जाँदा आफूले पालेका चौपाया बेच्नुपर्ने अवस्थामा पुग्छ। त्यसैले त भेडेनी कान्छीका भेडीगोठ नै नासिन्छ।

सास र आशका लागि भेडेनी कान्छीले छोरो बचाउन गरेको संघर्ष डा। केसीका नजरमा राज्यको कमजोरी हो।

‘हाम्रो स्वास्थ्य प्रणाली अपूरो छ। राज्यको कमजोरी कति छ भन्ने एउटा गतिलो उदाहरण ती बिरामी थिइन्’, केसीले भने, ‘भेडेनी कान्छीको उपचार हुम्लामै गर्न सकिन्थ्यो। तर हेल्थपोस्टमा प्रभावकारी काम नभइदिनाले सम्पत्ति बेचेर जुम्लाबाट सुर्खेत झर्नुपर्‍यो, उपचार गर्न।’

हेल्थपोस्ट

विश्वकै स्वास्थ्य प्रणाली तीन भागमा बाँडिएको बताउँछन्, डा. केसी. पहिलो प्रणालीभित्र प्राथमिक स्वास्थ्य चौकी पर्छ। केही गाविस वा नगरपालिकालाई हेरेर स्वास्थ्य चौकी निर्माण गरिएका हुन्छन्, जुन स–साना हुन्छन्। धेरै खर्च पनि लाग्दैन। तर नेपालमा ती स्वास्थ्य चौकीको सेवा–सुविधा प्रभावकारी नहुँदा दुर्गम गाउँका बालबालिका र महिला सबैभन्दा बढी रोगबाट जुध्नुपरेको बताउँछन्, उनी। भन्छन्, ‘स्वास्थ्य चौकीको सिद्धान्त यति राम्रोसँग बनाइएको छ कि तिनलाई चलायमान बनाउन सकियो भने ८० प्रतिशत रोग रोक्न सकिन्छ र गाउँमै त्यति नै प्रतिशत बिरामी सन्चो हुन सक्छन्।’

  • कर्णालीका कुनाकान्लाका ठाउँमा अझै पनि गाउँमै सुत्केरी गराउनुपर्ने अवस्था छ। जस्तै, हेल्थपोस्टले प्रजनन सेवामा २५ गाउँ हेरिरहेको छ, जहाँ डाक्टर पठाइरहेको छैन, जहाँ औषधी छैन, स्रोत र सामग्री पनि पठाएको छैन। यात्रा गर्न गाह्रो छ।

डा.केसीका अनुसार हेल्थपोस्टको प्रणालीलाई प्रभावकारी बनाउन नसक्नु नै हेल्थपोस्ट कमजोर हुनु हो। स–साना हेल्थपोस्ट सुधार्नुको साटो राज्यले ठूला–ठूला अस्पताल खोल्न लगायो। राज्यले ठूला अस्पताल सहर केन्द्रित गर्‍यो। त्यसैले कर्णालीका दुःख कहिले सकिएनन्।’

डा. केसी राजनीतिक प्रतिस्पर्धाका कारण पनि स्वस्थ्य क्षेत्रमा दिगो काम हुन नपाएको बताउँछन्। अझ दुर्गम क्षेत्रमा राजनीतिको उतारचढाव छिटो देखिने हुँदा मारमा ग्रामीण महिला र बालबालिका पर्ने गरेका छन् । ६–६ महिनामा मन्त्री फेरिने, सरकार फेरिने र नेताहरू सानाभन्दा ठूलाका काम गरेर देखाउन आकर्षित हुने। सरकारी स्वास्थ्य सेवालाई चुस्तदुरुस्त बनाउनुको साटो निजी क्षेत्रमा ठूला अस्पताल बनाउन खोज्ने हुँँदा गाउँका स्वास्थ्य क्षेत्र जोखिममा छन्।

दोस्रो स्वास्थ्य प्रणाली हो– सेकेन्डरी लेबल अफ हेल्थ केयर। यो जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल हुन्, जहाँ स्रोत र सामग्री भयो भने एकाधबाहेक सबै बिरामी सन्चो बनाउन सकिन्छ। तर जिल्ला जनस्वास्थ्य कार्यालय तथा अञ्चल अस्पतालमा स्रोत–साधन अभावले सही उपचार हुन पाउँदैन। केसी भन्छन्, ‘जिल्ला अस्पतालमा विषयगत डाक्टर अभावका साथै स्रोत–साधन अभाव छ। अझ स्वास्थ्य चौकीमा त कहाँ हुनुरु यसो हुँदा हुम्ला, जुम्लामा झाडापखाला लाग्दा सुर्खेत आउनुपर्ने अवस्था छ। जुम्लामा हात भाँचियो भने कि नेपालगञ्ज र हुम्लामा निमोनिया भए काठमाडौं आउनुपर्ने अवस्था छ।’


कर्णालीले लामो समय अस्पताल पाएन। जब अस्पताल पायो, तब डाक्टर पाएन। जब डाक्टर पायो, तब गतिलो व्यवहार पाएन, जुन हाम्रो राज्य संयन्त्रले विकास गरेको चिकित्सा शिक्षा प्रणालीको दोष हो। राज्यले ठूला अस्पताल खोल्न निजी क्षेत्रलाई प्रोत्साहन दिइरहेको छ, जहाँ उपचारको नाममा व्यापार हुन्छ। आज पनि ठूला भनिएका अस्पतालमा नाम कहलिएका डाक्टर बिरामीको अवस्थाभन्दा अगाडि पैसा बुझ्छन्।

‘ग्रामीण क्षेत्रमा भएका स्वास्थ्य चौकीमा सुधार छैन। ठूला अस्पताल भने च्याउझैं उम्रिएका छन्’, उनले भने।

उनी यसले कर्णाली मात्रै होइन, हरेक अस्पतालमा काम गर्ने डाक्टर सामाजिक हुनुपर्छ भन्छन्।

आमाहरू

आमा धर्ती हुन्। आमा सृष्टिकर्ता हुन्। आमाहरू भएकै कारण आज मानव सृष्टि निरन्तर चलेको छ। तर महिलालाई सहज र प्रभावकारी सुत्केरी सेवासमेत राज्यले दिन नसकेको गुनासो गर्छन्, डा। केसी। उनका अनुसार प्रजनन स्वस्थ्य सेवा हुन सुत्केरी सेवा पनि राम्रो हुनुपर्‍यो।

सबैभन्दा पहिला सुत्केरी हुने महिलालाई हेल्थपोस्ट लगिन्छ तर सेवा गतिलो छैन। ढुक्कले सुत्केरी सेवा दिन सकिँदैन किनकि ढुक्कले सुत्केरी सेवा दिन स्वास्थ्य चौकीमा ब्याकअप छैन। महिलाको सुत्केरी अवस्था बिग्रन थाल्यो भने अपरेसन थिएटर छैन। डाक्टर हुनुपर्‍यो। औषधी हुनुपर्‍यो। दुर्गम गाउँमा बाटोघाटो र सवारी साधन हुनुपर्‍यो। समयमा अस्पताल पुर्‍याउन सकिने स्रोत–साधन हुनुपर्‍यो। यस्ता स्रोत र सामग्री कर्णालीका अस्पतालमा अझै खड्किएको बताउँछन्, डा। केसी। उनी भन्छन्, ‘स्थिर विकासको मार्ग नभएका कारण यस्ता चुनौती अझै थपिनेछन्।’

अर्को कुरा, चेतना पनि कम भएको ठान्छन्, डा. केसी. कर्णालीका कुनाकान्लाका ठाउँमा अझै पनि गाउँमै सुत्केरी गराउनुपर्ने अवस्था छ। जस्तै, हेल्थपोस्टले प्रजनन सेवामा २५ गाउँ हेरिरहेको छ, जहाँ डाक्टर पठाइरहेको छैन, जहाँ औषधी छैन, स्रोत र सामग्री पनि पठाएको छैन। यात्रा गर्न गाह्रो छ। डा।केसी भन्छन्, ‘म कर्णाली फर्किंदा स्त्रीरोग विशेषज्ञ जम्मा २ जना थिए। अहिले १५ जना पुगेका छन्। यो परिवर्तन त हो तर प्रभावकारी छैन। नयाँ सिस्टमअनुसार राम्रा भए पनि त्यसलाई चलायमान बनाउन अझै केही कदम चाल्नुपर्छ।’

आज पनि कर्णाली क्षेत्रमा ४९ प्रतिशत बच्चा कुपोषणको सिकार भएका छन्। किन यो कम हुन सकेको छैनरु डा. केसी भन्छन्, ‘५१ प्रतिशत आमाहरूमा कुपोषण भएकै कारण छोराछोरीमा कुपोषण देखिन्छ। हामीले बच्चाका लागि मात्रै नभएर आमाकै लागि राम्रो खानपान र स्याहारसुसार गर्न सकेनौं।’

डा. केसीका अनुसार भान्सामा पहिला खाना पकाउने महिला भएर पनि पुरुषले पहिला खाने चलन छ। मिठो खाना पहिला पुरुषले खाएपछि बचेको छोरी–बुहारी तथा आमाहरूले खाने चलन छ। जब पोषणयुक्त खानेकुरा महिलाले खानै नपाएपछि तिनलाई कुपोषण नभए कसलाई हुन्छरु ‘ती आमाहरू, जसले पोषिलो खानै नपाएर आमा हुनुपरेको छ’, डा. केसीले भने।

  • कर्णालीका दुर्गम कुनाकाप्चाका गाउँबाट अस्पतालमा उपचारका लागि आउने बिरामी आमा र बच्चाहरूले डा. केसीलाई जीवनको महत्त्वपूर्ण पाठ सिकाए। उनले त्यो सिकाइ विश्वविद्यालयमा कहिल्यै पढ्न पाएनन्। सुरुमा विश्वविद्यालय पढेको भ्रममा रहेका केसीलाई कर्णालीका आमा देख्दा डिग्री गरेको भ्रम टुट्यो। ४० वर्षअघिको समाज अझै पनि कर्णालीमा रहेको ठान्छन्, उनी।

मान्छेले जब धानको, गहुँको, मकैको, बिउ राख्न जान्यो। पशुहरूको बिउ राख्न जान्यो तर मान्छेको बिउ राख्न नजानेको बताउँछन्, केसी।

‘संसारमा सबैथोकको बिउ राख्न जान्यो मान्छेले तर मान्छेले आफ्नै बिउ राख्न जानेन’, उनी भन्छन्, ‘मान्छेको बिउ भनेको आमाको अण्डाशय हो। मान्छेको माटो भनेको आमाको पाठेघर हो। त्यो माटो र बिउलाई मलजल गर्ने भनेको शारीरिक, मानिसक, सामाजिक, आध्यात्मिक रूपमा मलजल गर्नु हो। त्यो गर्न जानेनौं।’

डा. केसीका अनुसार मानिसले आमाहरूमाथि लगानी गर्न सकेनन्। यदि आमाहरूको विकास र सेवामा मानिसले लगानी गथ्र्यो भने आज कुपोषण भएर जन्मिनु पर्दैनथ्यो। आमाहरू कुपोषणको सिकार हुनु पर्दैनथ्यो। तिनबाट जन्मेका बच्चा ६ फिटसम्म अग्ला हुन्थे। आमाहरूको स्वास्थ्य सामाजिक, आध्यात्मिक, मानसिक सबै कुरामा लगानी गर्न जरुरी थियो र छ भन्छन्, डा. केसी।

जसमाथि लगानी गरिएन, उनै आमाहरू कर्णाली सुदूरपश्चिम क्षेत्रमा घर धान्छन्। घर चलाउँछन्। खेती गर्छन्। उनीहरूले ज्याला–मजदुरी गरेको पैसाले घरखर्च चलेको छ। लोग्नेमान्छे आजीवन विदेशिन्छ तर घर धानिदिने महिला हुन्छन्।

‘अहिले पनि कर्णालीका दिदीबिहिनी, आमाहरू दिनभरि कमिलाझैं, रातभरि जुनकिरीझैं काम गर्छन्। नेपालको अर्थतन्त्र धान्नमा महिलाको योगदान धेरै छ। एक महिला एक पटुकी बैंक हो’, उनी भन्छन्, ‘महिलालाई राज्यले नै कमजोर बनाएको हो किनकि हाम्रो राज्यको व्यवस्थापिकीय पाटो फेल भएको छ।’

आमाहरूले अहिले पनि घर मात्रै होइन, गाउँ चलाइरहेका छन्। एउटा परिवारले त्यति मात्रै उत्पादन गरेको छ, जति वर्षभरलाई चाहिन्छ। कमाइ विवरण र खर्च विवरण जोड्दा शून्यमा पुग्छ। प्लसमा लैजान अर्थव्यवस्था पनि चलाउनुपर्ने देखिने बताउँछन्, डा.केसी।

डा.केसी लेखक मात्रै होइनन्। सामाजिक अभियन्ता पनि हुन्। आफ्नो पेसालाई सदुपयोग गर्दै उनले कर्णालीका विभिन्न जिल्लामा ५० बढी निःशुल्क स्वास्थ्यशिविर चलाएका छन्।

उनी आफ्नो शिविरमा महिला डाक्टर छुटाउँदैनन्। आफू बालरोग भएका कारण बच्चालाई हुर्काउन आमाहरूको उपचार पनि खाँचो छ भनेर उनी स्त्रीरोग विशेषज्ञ साथै लगेर शिविर चलाउने गर्छन्। कहिले टेली मेडिसिनबाट पनि काम गरिरहेका छन्। भन्छन्, ‘मलाई अहिले पनि हेल्थपोस्टमा गएर काम गर्न मन लाग्छ। तर त्योअनुसारको औषधी र सामग्री अभावले जान सकिरहेको छैन।’

कर्णालीमा अन्धविश्वासका कारण स्वास्थ्य क्षेत्रमा हेर्ने दृष्टिकोण हिजोभन्दा धेरै गुणा फेरिएको बताउँछन्, डा. केसी।

हजार वर्ष अगाडि खस साम्राज्य भारतको उत्तर प्रदेशबाट आएसँगै जातीय छुवाछूत र महिला–पुरुषबीचको विभेद चुलिएको हो। त्यो न्यूनीकरण अभियान र लेखनबाट कोसिस गर्दै आएको बताउँछन्, डा. केसी। अहिले कर्णाली क्षेत्रमा दिगो विकास र महिलाको सोच्ने चेतनामा फरक ल्याउन सकिने उनको बुझाइ छ। उनी भन्छन्, ‘जबसम्म आमाहरूमा लगानी गर्न सकिँदैन, तबसम्म चेतनाको स्तर बढाउन सकिँदैन। गरिबी निवारण गर्न पनि मुस्किल पर्छ।’

डा. केसीको पहिलो कृति शून्यको मूल्यले मूलत कर्णालीका आमाहरूको कथा भनेको छ, जसलाई समाजले निरीह र कमजोरबाहेक केही देखेन। महिलाको हुर्काइ–बढाइ, लवाइ–खवाइ, हिँड्डुल, काम गराई सबै सबैमा महिला कमजोर हुन्छन् भन्ने देखाइरह्यो। तसर्थ, महिलाहरू आफू कमजोर छौं भन्ने मानसिकता बोकेर प्रस्तुत हुन्छन्। समाजले महिलाको आडभरोसा, उत्साह सबै पुरुष हो भन्ने पार्छ र दबाइराख्नलाई विभिन्न खाले प्रथा, परम्पराको दाम्लो लगाउँछ।

लेखक डा. केसीले शून्यको मूल्यमार्फत यी सबै मान्यतामाथि कसिलो प्रहार गरेका छन्, जसमा संयुक्त राष्ट्रसंघको दिगो विकासका १७ वटा लक्ष्य प्रस्तुत गरिएको छ। यी सबै लक्ष्य पूरा गर्न आमा शब्दको ‘अ’मा अर्थतन्त्रको अलाई जोड्न लेखक डा.केसी जरुरी ठान्छन्।

आमा बलियो बनाउन ‘शून्यको मूल्य’ एक बलियो हतियार भएको उनको बुझाइ छ। उनी आमाहरूको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक विकाससँगै शैक्षिक स्तर पनि उकास्न जरुरी ठान्छन्। त्यो अझ कर्णाली भेगमा अत्यन्तै खाँचो देख्छन्। त्यसैले त उनले वादी समुदायका ६ जना नानीलाई होस्टल राखेर बोर्डिङ स्कुल पढाउँदै आएका छन्। २५ हजार महिनाको खर्च गरेका छन्। यो कर्मप्रति परिवारको पनि सहयोग छ, उनलाई।

‘जसले जति दुःख भोगे–भोगे। अब नयाँ पुस्ताले अथवा जो हुर्किंदै छन्, तिनले दुःख नपाउन्। परम्परागत पेसामा लाग्न नपरोस् भन्ने उद्देश्यले सक्दो सेवा गरेको हुँ’, उनले भने। – राज सरगम नेपाल समय