दैलेखमा पेट्रोलियम अन्वेषण, पूर्वाधारमै ढिलाइ


सुर्खेत । सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य ढिलाइ भएको छ। कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद पुनः थप गरिए पनि सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण काम सुरु हुन नसकेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद थप गरिएको भए पनि अन्वेषण गर्न आवश्यक सामग्री ल्याउन सडक पूर्वाधार नभएका कारण ढिलाइ भएको बताए। उनले चीनबाट भारत हुँदै नेपालगञ्जसम्म सामग्री आउने र त्यहाँबाट दैलेखमा पु¥याउन सडक पूर्वाधार समस्या भएको जानकारी दिए।

विभागले स्थलगत अध्ययन गरेर फाइल मन्त्रालयमा बुझाएको छ । उनले भने, “चीनबाट भारत हुँदै नेपालगञ्ज नाकाबाट भित्रिने ड्रिलिङ उपकरण ६ मिटर चौडा, ६० टन तौल र १५ मिटर लामो हुने भएकाले सडकका मोडहरू स्तरोन्नति गर्नुपर्ने अवस्था छ। त्रिपाठीका अनुसार दैलेखको भैरवी गाउँपालिका–१, को करिब ४५ रोपनी जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको छ। सडक मार्ग स्तरोन्नतिको काम भने सडक विभागले थालिसकेको छ।


अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिण दिशामा खनिएका १० वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि त्यसको वास्तविक अध्ययनपश्चात् पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम अघिल्लो असोज महिनामा गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरका कारण काम प्रभावित बनेको थियो।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच २०१९ फेबु्रअरी २८ मा सम्झौता भएको र सम्झौताको अवधि सन् २०२२ फेब्रुअरी २८ मा सकिएसँगै २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुई वर्ष म्याद थप गरेको थियो। जिल्लाको मुख्यतया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका, डुँगेश्वर गाउँपालिका, नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका केही भू–भाग समेटेर १० वटा सिस्मिक लाइनहरूमा जम्मा दुई सय लाइन किमि सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो।