सल्यानमा २० प्रतिशतले बढ्यो सुन्तला उत्पादन


सुर्खेत । सल्यानमा २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । विगत तीन वर्षदेखि सुन्तला उत्पादनमा निरन्तर ओरालो लागेको सल्यानमा यस वर्ष भने २० प्रतिशतले वृद्धि भएको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार गत वर्ष ६ हजार ९ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ८ हजार ३ सय ७६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनमा असर परे पनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले जानकारी दिए । उनले भने “विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असर लगायतका कारण सल्यानमा सुन्तलाको उत्पादन गर्दै आइरहेको थियो । तर यस वर्ष भने गर्त वर्षको भन्दा १ हजार ३ सय ९६ मेट्रिक टनले बढी उत्पादन हुने अनुमान गरिएको छ ।”


जिल्लाभर किसानले १ हजार ६ सय हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् । जसबाट प्रत्येक वर्ष २५ करोडसम्म भित्रिँदै आइरहेको छ । यो वर्ष किसानले २८ करोडसम्म भित्र्याउने अनुमान छ । जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख त्रिवेणी र छत्रेश्वरी गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।