कांग्रेस उपसभापति खड्काद्वारा विकाय योजनाको अनुगमन

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास योजनाहरुको अनुगमन गरेका छन् । सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य खड्काले सडक पुल र मेहलकुना अस्पतालकोे अनुगमन गरेका हुन् ।

               सुर्खेतको जहरे पुल र मेहलकुना अस्पतालको अनुगमन गर्नुहुदै कांग्रेस उपसभापति पुर्ण बहादुर खड्का ।

खड्काले भेरीगंगा नगरपालिकाको जहरे र गुर्भाकोट नगरपालिकाको गुमी जोड्ने भेरी नदीमाथि बन्दै गरेको सडक पुलको अनुगमन गरे । खड्काले तोकिएकै समयमा पुलको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।भेरी नदीमाथि बन्दै गरेको पुलको ठेक्का आशिष–चन्द्रा एण्ड बशन्त कम्पनीले लिएको छ । कम्पनीका साइट इन्जिनियर नारायण श्रेष्ठ म्याद अघिनै निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताए । ‘असार मसान्तभित्र पुलको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ,’ श्रेष्ठले भने, ‘८० प्रतिशत काम सम्पन्न गरेका छौं, जेठभित्र पुलमाथिबाट सवारी साधन ओहोर–दोहोर हुन्छ ।’

चार वर्षभित्र सम्पन्न गर्ने गरेर आशिषले १६ करोडमा पुलको ठेक्का लिएको थियो । पुल अनुगमनका क्रममा उपसभापति खड्काले पुलदेखि मुख्य सडकसम्मको पहुँच मार्गका विषयमा चासो राखेका थिए । यस्तै खड्काले मेहलकुना अस्पतालको पनि अनुगमन गरेका छन् । अनुगमनका क्रममा खड्काले अस्पतालको ५० बेडको भवन निर्माण कार्य सुस्त भएको बताउँदै ठेक्का तोडेर नयाँ प्रक्रियामा जान निर्देशन दिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि तेस्रो पटक अनुगमनका पुगेका खड्काले संघीय आयोजना कार्यान्वयन इकाईलाई नयाँ प्रक्रियामा गएर चाँडो अस्पताल निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

खड्काकै पहलमा २०७२ सालमा मेहलकुना अस्पतालको स्तरोन्नति गरेर ५० शैय्याको बनाइएको थियो । ‘पूर्वी सुर्खेतसहित रुकुम, जाजरकोट, सल्यान, डोल्पालगायतका जिल्लाका सेवाग्राहीहरुलाई लक्षित गरेर ५० शैय्याको अस्पताल भवन निर्माण सुरु गरिएको हो,’ उनले भने, ‘अहिलेको निर्माण व्यवसायीबाट भवन निर्माण समयमै हुने देखिएन्, नयाँ प्रक्रियामा जानुहोस् ।’ संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर रामकृष्ण आचार्यले पटक–पटक म्याद थप्दा पनि भवन निर्माणको कामले गति नलिएको बताए । ‘ताकेता गरेको बेला निर्माण कम्पनीले केही कामदार ल्याएर काम गराउँछ, केही दिनमै फेरि कामदार हराउँछन्,’ उनले भने, ‘अव अहिलेको ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने तयारीमा हामी छौं ।’ मेहलकुना अस्पतालको ५० बेडको भवन निर्माणको ठेक्का लोहनी कन्ट्रक्सनले २७ करोडमा लिएको थियो । २०७७ असार मसान्तभित्र सम्पन्न गर्ने गरेर ठेक्का लिएको भएपनि अहिलेसम्म भवन निर्माणको काम सम्पन्न भइसकेको छैन् ।

तपाईको प्रतिक्रिया