राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै नेपाली सेना

सुर्खेत । नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ को आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रुपमा रहेको लामो दुरीको दौडकोे प्रवद्र्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि यही माघ २१ गते एकताका लागि दौड प्रतियोगिता हुने भएको हो ।

आइतवार उत्तर पश्चिम पृतना हेडक्वाटरद्वारा सेनाले गरेको अर्धवार्षिक कार्य प्रगति सार्वजनिक गर्दै एकताका लागि दौड प्रतियोगिता गर्न लागिएको जनाईएको छ । खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरुलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमको रुपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ ।

करिव एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दुरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् । प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न संघसंस्थाले भाग लिन पाउने छन् ।

५ किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्नेलाई क्रमशः १० हजार, पाँच हजार, तीन हजार र १० किलोमिटरमा २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हात हतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरुको पर्दशनीसमेत गर्नेछ । कार्यक्रम खुलामञ्चमा हुनेछ ।

तपाईको प्रतिक्रिया