
सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपियाँसम्मले घटेको हवाई भाडा दर बुधबारदेखि लागु हुने छ ।
नयाँ हवाई भाडा दर अनुसार सबैभन्दाबढी विराटनगर–नेपालगन्ज सेक्टरको हवाई भाडा ७५० रुपैयाँले घटेको छ । यो सँगै यस तर्फको रुटमा सात हजार ३०५ रुपियाँ भाडा दर कायम भएको छ । नयाँ मूल्य सूची अनुसार सबैभन्दा कम काठमाडौँ–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै यसअघि दुई हजार ३८० रुपैयाँ रहेको काठमाडौँ–पोखराको नयाँ भाडा दुई हजार १५५ रुपैयाँ तोकिएको छ । प्राधिकरणका अनुसार काठमाडौँबाट माउन्टेन फ्लाइट ४८५ रुपियाँले घटेर चार हजार ६६५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै काठमाडौँबाट विराटनगरको ३३५,जनकपुरको १८०, भरतपुर १५०, पोखराको २२५, भैरहवा २८५, नेपालगन्ज ४५५, तुम्लिङटार २६०, सुर्खेतको ४८५, भद्रपुरको ४२० र राजविराजको हवाई भाडा २८५ रुपैयाँले घटेको छ । त्यस्तै पोखराबाट भरतपुरको हवाई भाडा १५५, भैरहवाको १८०, सिमराको ३१०, नेपालगञ्जको ३३०, विराटनगरको पाँच सय, जनकपुरको ३६५, भद्रपुरको ५७०, धनगढीको ४७५ र माउन्टेन फ्लाइटको ४४० रुपैयाँ कम भएको छ ।

नेपालीरैबार । २०८० असार २०, बुधबार