कर्णाली प्रदेश रंगशाला निर्माणको भौतिक प्रगति ६० प्रतिशत

सुर्खेत । कर्णाली प्रदेश गौरव आयोजनाको निर्माणाधीन प्रदेश रंगशालाको ६० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ भने,४६ प्रतिशत वित्तीय प्रगति भएको छ । सो बिषयमा जानकारी दिन आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक वर्ष २०७९/८० मा भएको कामको प्रगति विवरण  सार्वजनिक गर्ने पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

प्रगति विवरण सार्वजनिक गर्दे खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जालले रंगशाला थ्री डी एनिमेसन दर्शक प्याराफिटमा ४ हजार कुर्सी जडानको कार्य सकिएको बताए । यस्तै फिनिसिङ्ग र छाना निर्माणको कार्य बाँकी रहेको उनको भनाई छ । आर्थिक वर्ष २०७९/८० को असार २३ गतेसम्म चालू तर्फ ३ करोड ७२ लाख १५ हजार र पूँजिगत तर्फ ६१ करोड ७ लाख ५६ हजार गरी जम्मा ६४ करोड ७९ लाख ७१ हजार खर्च भएको परिषद्ले जनाएको छ ।

आगामी वर्षमा प्रदेश खेलकुद अन्तर्गत चालु तर्फ ८ करोड ३२ लाख ७६ हजार र पूँजिगत तर्फ ९१ करोड ८७ लाख गरी जम्मा १ अर्ब १९ लाख ७६ हजार विनियोजन भएको छ । त्यस्तै, प्रदेश रंगशाला निर्माणमा ८५ करोड, हुम्ला हक्की खेल मैदान ५० लाख, कालीकोट कवर्ड हल निर्माण ६० लाख, दशौँ राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदान मर्मत सुधार २ करोड, चिसापानी खेल मैदान निर्माण सुर्खेत २४ लाख, मैनतडा खेल पूर्वाधार निर्माण सुर्खेत १८ लाख, विनियोजन गरिएको छ ।

यस्तै चौरहजारी क्रिकेट मैदान निर्माण रुकुम पश्चिम ६० लाख, कालिन्चोक खेल मैदान निर्माण सुर्खेत २५ लाख, जिल्ला स्तरीय खेलकुद मैदान निर्माण २ करोड, कुदु रंगशाला निर्माण जाजरकोट १५ लाख, दशौँ राष्ट्रिय खेलकुद तयारीको लागी ७० लाख, प्रदेश स्तरीय टिम तयारी तथा प्रशिक्षणको लागी जम्मा ४ करोड ७० लाख मुख्यमन्त्री कप जिल्ला र प्रदेश स्तरमा १ करोड १० लाख विनियोजन गरिएको छ ।

यस्तै अहिले कबर्ड हलको छाना बाहेक फिनिसिङ्ग कार्य भइरहेको र पौडी पोखरी, व्यावसायिक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्न हुने चरणमा रहेको छ । फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको कार्य भइरहेको, एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण कार्य सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य भइरहेको छ ।

निर्माणाधीन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै कार्य प्रगति भएको खेलकुद विकास परिषद्ले जनाएको छ । उक्त रंगशाला निर्माण कार्यमा हालसम्म ६५ करोड ८५ लाख खर्च भएको छ । कर्णालीका अन्य जिल्लाहरूमा पूर्वाधार निर्माण अन्तर्गत जुम्लाको राजा सिम खेलमैदानमा माटो भरान र लेभलिङ गर्ने कार्यमा ५० लाखमा लागतमा निर्माण कार्य सम्पन्न भएको छ । साथै, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पातिहाल्नामा क्रिकेट खेलमैदानको निर्माण कार्य को लागी ९४ लाख १७ हजार खर्च भएको  छ ।

तपाईको प्रतिक्रिया