सम्पादकिय

असारे खर्च निरुत्साहित गर

कर्णाली प्रदेशका हिमाली र पहाडी जिल्लामा असारे खर्च प्रबृत्ति बढदै गएको छ । कर्णाली प्रदेशको विकास बजेट असार महिनामा निर्भर हुन्छ । विगत पाँच आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने कर्णाली प्रदेश सरकारले विकास खर्चको ग्राफ देखाउने महिनाको रूपमा असार नै पर्छ । अझै भनौँ, सरकारले लिएको दुुईतिहाइ बजेट कार्यान्वयनको लक्ष्य धान्ने महिना पनि असार नै हो ।

वर्षका ११ महिना बजेटको अख्तियारी तथा कार्यान्वयनमा ध्यान नदिने तर, असार लागेपछि धमाधम रकमान्तर गर्ने प्रदेश सरकारको शैलीले अपेक्षाकृत विकास बजेट खर्च हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७९/०८० को १० महिनासम्म पनि बजेट कार्यान्वयनको गति बढाउन नसकेको कर्णाली सरकारले जेष्ठ महिना लागेसँगै खर्च प्रतिशत बढाएको छ । प्रदेश सरकारले जेठ महिनाको १७ दिनमा १ अर्ब ८ करोड ५ लाख ४६ हजार ८२ रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको ३ दशमलव ३ प्रतिशत हो । जबकि यसअघि पूरा एक महिनामा समेत यति बजेट कार्यान्वयन हुँदैनथ्यो ।

चालु आर्थिक वर्ष २०७९/०८० मा ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार वार्षिक बजेटमध्ये जेठ १७ गतेसम्ममा ११ अर्ब ३० करोड २१ लाख ४० हजार ९ सय १४ रुपैयाँ बजेट कार्यान्वयनमा आएको छ । यद्यपि प्रदेश सरकारसँग भने अझै झण्डै २१ अर्ब ४३ करोड ८७ लाख ६३ हजारबराबरको बजेट मौज्दात छ ।

असार मसान्तसम्म कुनै पनि हालतमा सरकारले यो बजेट कार्यान्वयन गर्न सक्ने अवस्था देखिँदैन । सरकारले असार मसान्तसम्म ६० प्रतिशत बजेट खर्च कटाउने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयका सचिव श्यामकृष्ण थापाले काम भइरहेको र भुक्तानी नभएका कारण खर्च रकम प्रतिशतमा कम देखिएको बताए । उनले लक्ष्य ७० प्रतिशतसम्म पुग्ने रहे पनि त्यहाँसम्म पुग्न नसकिने संकेत देखिएको बताए ।

आर्थिक वर्षको अन्तिम समयमा आएर पुँजीगत अर्थात् विकास बजेट खर्चको अवस्थासमेत बढेको छ । वैशाख मसान्तसम्म ५ अर्ब १३ करोड ८० लाख १२ हजार बराबरको विकास बजेट खर्च गरेको सरकारले २० दिनमा ५५ करोड ६६ लाख ८३ हजार ५ सय २४ अर्थात् २ दशमलव ८३ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।

प्रदेश सरकारसँग १९ अर्ब ५२ करोड १२ लाख २९ हजार २ सय वार्षिक विकास बजेट छ । अब प्रदेश सरकारसँग १३ अर्ब ८२ करोड ६५ लाख ३२ हजार ८ सय ८१ रुपैयाँ बराबरको विकास बजेट मौज्दात छ । यो अवधिमा चालुतर्फ भने ४२ दशमलव ८४ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सचिव थापाको भनाइ छ । यसपटक पनि रकमान्तर गरेरै भए पनि सरकारले खर्चको लक्ष्य प्राप्त गर्ने देखिन्छ ।

अब सरकारले खर्च व्यवस्थापनमा ध्यान दिन जरुरी छ । जथाभावी बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने रोगका कारण सरकारको यस्तो अवस्था देखा परेको हो । जबसम्म विकास बजेट सहि समयमा खर्च हुँदैन, तबसम्म कर्णालीको रुपान्तरण असम्भव छ । यस विषयमा राजनीतिक नेतृत्वको गम्भीर ध्याानाकर्षण होस र असारे खर्च प्रवृत्ति बन्द होस शुभकामना ।

तपाईको प्रतिक्रिया