प्रदेश अस्पताल सुर्खेतमा दोस्रोपटक मृगौला प्रत्यारोपण सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा दोस्रो पटक मृगौला प्रत्यारोपण बिहिबार साझ सम्पन्न भएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत अस्पतालको तर्फबाट डा. डम्बर खडका र केन्द्रको तर्फबाट डा. पुकारचन्द्र श्रेष्ठले प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण गर्नाका लागि २०७८ चैत्र १० गते गर्न भएको सम्झौता बमोजिम यस अस्पतालमा मिति २०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा शुरु गरिएको थियो ।

“प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना अनुरुप सम्पूर्ण कानुनी तथा व्यवस्थापकिय प्रक्रिया पुरा गरे पश्चात मिति २०८० असार २८ गते दोस्रो पटक रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. २ निवासी ४४ वर्षिय आमाले ३७ बर्षिय छोरा लाई मृगौला दान गर्की थिइन ।”

प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा डम्बर खड्काले भने, “शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र अस्पतालका निर्देशक डा. डम्बर खड्काको टिम द्वारा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको छ ।”

मृगौला प्रत्यारोपण कार्यमा चिकित्सकहरु, ओ.टी इन्चार्ज तथा ओ.टी. र आई.सि.यु.मा कार्यरत नर्सिङ्ग कर्मचारीहरु साथै प्रयोगशालाकर्मी लगायतका कर्मचारीहरु सम्लग्न रहेका थिए ।
आगामी दिनहरुमा प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको छ । त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा नियमित सेवा शुरु गर्न प्राविधिक सहयोग गरेको छ र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पश्चिम नेपालको इतिहासमै दोस्रोपटक मृगौला प्रत्यारोपण सम्पन्न भएको बताए । “अब पश्चिम नेपालका मृगौला रोगिले काठमाडौ धाउने दिन अन्त्य भएको छ ।” उनले भने, “अब नियमित रुपमा मृगौला प्रत्यारोपण हुन्छ । अस्पतालका संरचना उत्तम छन ।”

तपाईको प्रतिक्रिया