कर्णाली करिडोरकाे ट्र्याक खुल्न साढे दुई किलोमिटर बाँकी

सुर्खेत । कर्णाली समृद्धि मार्गका रूपमा हेरिएको कर्णाली करिडोर ट्र्याक खुल्न साढे दुई किलोमिटर बाँकी छ। नेपाली सेनाले हुम्लाको स्याल्तडीदेखि लालीबगरसम्मको ११ किलोमिटर खण्डमा काम गरिरहेको छ। सेनाले ११ मध्ये साढे आठ किलोमिटर कडा चट्टान फोडेर सडक निर्माण गरिसकेको छ।

बाँकी साढे दुई किलोमिटर ट्र्याक खुलेसँगै उत्तरको छिमेकी चीनसँग स्थल मार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिनेछ। सेनाले काम गरिरहेको अहिलेको खण्डमा भौतिक प्रगति ७० प्रतिशत छ। असार मसान्तसम्म अझै भौतिक प्रगति बढ्नेछ। आउने दसैंसम्म सडक छिचोल्ने लक्ष्य सेनाको छ। ‘अब आगामी आर्थिक वर्षमा बाँकी रहेको साढे दुई किलोमिटर कडा चट्टान छिचोल्छौं,’नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अनुप पोखरेलले भने, ‘लक्ष्यभन्दा राम्रो प्रगति भइरहेकाले सरकारले दिएको समयअगावै ट्र्याक खुल्ने सम्भावना छ।’

कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ। सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन्।

हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म र कर्णाली करिडोरको बाँकी खण्डमा पनि यातायातका साधन चलिरहेका छन्। साढे दुई किलोमिटर सडकको ट्र्याक खुलेसँगै हुम्ला जिल्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ। अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो। संघीय सरकारले उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरअन्तर्गतको दुल्लीकुना–लालीबगर खण्ड निर्माणको जिम्मा दुई वर्षअघि नेपाली सेनालाई दिएको थियो। सेनाले जिम्मा लिएसँगै सडक निर्माण तीव्र गतिमा भइरहेको हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए।

‘दसैंसम्म प्रदेश राजधानी सुर्खेतबाट चीनसँगको सिमा हिल्सासम्म मोटर चल्ने विश्वास पलाएको छ’,उनले भने, ‘कर्णाली र सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सडकमा हामी सबैको चिन्ता र चासो छ।’अघिल्लो वर्ष साउनमा सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–हिल्सा सडकको १२२ किलोमिटर सडक निर्माण गरी सडक विभागलाई हस्तान्तरण गरेको थियो।

कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दुरी २६७।७५ किलोमिटर छ। त्योमध्ये सबैभन्दा धेरै अप्ठेरो भूभागको १२२।७५ किलोमिटर सडक निर्माण जिम्मा सरकारले २०७१ चैत ५ गते नेपाली सेनालाई दिएको थियो। सल्लीसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटर खण्डमध्ये बाँकी खण्डमा ट्याक खुलिसकेको छ। हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक सञ्चालनमा छ।

तपाईको प्रतिक्रिया