बेतन कर्णाली विद्युत आयोजनाको ईआईएमाथि अन्तिम राय सुझाव माग

सुर्खेत । अर्धजलाशययुक्त चार सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन अन्तिम कार्यान्वयन र स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पुगेको छ । मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयन र स्वीकृतिका लागि अन्तिमपटक प्रभावित क्षेत्रका नागरिकहरुसँग राय तथा सुझाव मागेको छ ।

बुधबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आयोजना कार्यान्वयन र स्वीकृतिका क्रममा कुनै राय सुझाव भए सात दिनभित्र मन्त्रालयमा पेस गर्न भनेको छ ।

वातावरणीय संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (६) बमोजिम प्रस्तावित आयोजनाको प्रतिवेदनमा राय सुझाव दिनका लागि सर्वसाधारणले प्रतिवेदन पढ्न र उतार गरी लैजान पाउने व्यवस्था रहेको उल्लेख गर्दै प्रतिवेदनमाथि राय सुझाव पेस गर्न मन्त्रालयले सूचना जारी गरेको हो । आएका सुझावहरुलाई आयोजना कार्यान्वयनका लागि स्वीकृति दिँदा सम्बोधन गरिने बताइएको छ ।

प्रतिवेदनअनुसार सुर्खेतको चौकुने गाउँपालिकाको वडा नम्बर ४, ५ र ६, पञ्चपुरी नगरपालिका वडा नम्बर ७ र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकेरी गाउँपालिका वडा नम्बर ६ र ७ तथा तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ आयोजनाबाट प्रभावित हुनेछन् । आयोजनाबाट तीन सय ४८ घरधुरी प्रभावित हुँदा २४ घर पूर्णरुपमा विस्थापित हुनेछन् ।

आयोजनाको ड्याम (बाँधस्थल) अछामको ढकेरी गाउँपालिका–६, मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका ६ मा पर्नेछ । पावरहाउस (विद्युतगृह) अछामको ढकेरी गाउँपालिकाको टटालीघाटमा रहनेछ ।

डाइभर्सन टनेल चौकुने गाउँपालिकाको वडा नम्बर ६ मा पर्नेछ । बेतन कर्णाली सञ्चयकर्ता हाईड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणका लागि प्रस्तावित चार सय ३९ मेगावाट (मुख्य आयोजनाको चार सय ३० दशमलव १३ मेगावाट र वातावरणीय प्रभावबाट उत्पादन हुने ८ दशमलव ७७ मेगावाट) क्षमताको आयोजना करिब ८८ अर्ब लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका करिव ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका लागि निर्माण हुने संरचना तथा जलाशयमा हुने डुवान क्षेत्रका लागि निजी स्वामित्वको ९३ दशमलव ११ हेक्टरर र सरकारी स्वामित्वको वन क्षेत्र पाँच सय ९८ दशमलव ८८ हेक्टर गरी कुल ६ सय ९१ हेक्टर जमिन आवश्यक पर्दछ ।

पाँच सय ९८ हेक्टर सरकारी वन क्षेत्रमध्ये नदी तथा नदीको किनारा क्षेत्र दुई सय ५८ दशमलव ४९ हेक्टर र बाँकी तीन सय ४० हेक्टर घाँसे मैदान र रुख÷बुट्यानले ढाकेको क्षेत्र प्रयोग हुनेछ । आयोजनाको मुख्य दुईवटा सुरुङमार्फत दुई हजार चार सय घनमिटर प्रतिसेकेण्ड पानीलाई विद्युत गृहमा डाइभर्सन गरिने छ ।

४० दशमलव ९६ मिटरको उचाइको माथिल्लो कफर बाँध समुन्द्र सतहबाट चार सय ३४ दशमलव ३२ एमएसएलमा रहेन छ । जसको माथिल्लो लम्बाई एकसय ३६ मिटर हुनेछ । यस्तै तल्लो कफर बाँध १६ दशमलव ५० मिटर उचाइको समुन्द्र सतहबाट चार सय ६ दशमलव तीन सय ६१ एमएसएलमा रहने छ । जसको माथिल्लो लम्बाई ८५ मिटरको हुनेछ ।

प्रस्तावित मुख्य आयोजनाका मुख्य संरचनाहरुमा पावर इन्टेक, दुई हजार १७ दशमलव २६, दुई हजार ११ दशमलव १५ र दुई हजार १७ दशमलव ३९ मिटरका तीन वटा हेडरेस सुरुङ, तीन वटा प्रेसर साफ्ट, भूमिगत प्रकारको पावर हाउस र ६ वटा टेलरेस सुरुङ रहनेछन् ।

यस्तै वातावरणीय प्रभावबाट उत्पादन हुने आठ दशमलव ८२ मेगावाट आयोजनाको पावर इन्टेक, प्रेसर साफ्ट र सतही पावर हाउस रहने छन् भने, आन्तरिक पहुँचका लागि झण्डै चार दशमलव ८२ किलोमिटर सडक स्तरोन्त्तिका लागि प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

वार्षिक दुई हजार गिगावाट विजुली उत्पादन हुने  प्रस्तावित अर्धजलाशययूक्त जलविद्युत आयोजनाको जलाशयको भण्डारण क्षमता एक सय ६१ दशमलव ६९ घनमिटर र जलाशयको लम्वाई २१ दशमलव ९३ किलोमिटर हुने ईआईएमा प्रस्ताव गरिएको छ । आयोजनाबाट सुख्खा मौसममा अफ पिक ऊर्जा दुई सय ३० दशमलव ८२ गिगावाटप्रति घण्टा र पिक ऊर्जा ६ सय ९८ दशमलव ३८ गिगावाटप्रति घण्टा ऊर्जा उत्पादन हुनेछ ।

यस्तै वर्षामा एक हजार ६ सय नौ दशमलव ६७ गिगावाटप्रति घण्टाका दरले विजुली उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ । आयोजनाबाट उत्पादित विद्युतले पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको ९ वर्षपछि वार्षिक १८ अर्ब ३७ करोड २१ लाख ८ हजार आम्दानी हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया