
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन विस्तारका लागि केन्द्रदेखि जिल्ला तहका ९ सय नेतालाई स्थानीय स्तरमा खटाउने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले समेत भूगोलको जिम्मेवारी लिएका छन् । देशका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासमा समेत राप्रपाले नेताहरू तोकेर जिम्मेवारी प्रदान गरेको हो । जसमध्ये कर्णाली प्रदेशका ७८ स्थानीय तहका लागि २३ जना कमाण्डरहरु खटाएको छ ।
जसमध्ये सुर्खेतमा मुकुन्दश्याम गिरीलाई वीरेन्द्रनगर, सन्तोशी शाहीलाई भेरीगंगा र लेकवेशी, सुनिता शाहलाई गुर्भाकोट, चिंगाड र सिम्ता गाउँपालिका, जनकबहादुर सिहलाई चौकुने, पञ्चपुरी र बराहतालमा खटाइएको छ ।
दैलेखमा विविता शाहीलाई काठविस, ठाँटीकाँध, चामुण्डाविन्द्रासैनी र दुल्लु, कुन्तिकुमारी शाहीलाई गुराँश, डुंगेश्वर, नारायण र भगवतिमाई, दिपकबहादुर शाहीलाई नौमुले, भैरवी र महावुको कमाण्डर बनाइएको छ । जाजरकोटमा यज्ञबहादुर सिंहलाई कुसे, नलगाड र बारेकोट र दिपक खनाललाई छेडागाड, जुनीचाँदे, भेरी र शिवालय गाउँपालिकाको कमाण्डर बनाउने निर्णय गरिएको छ ।
त्यसैगरी सल्यानमा नुबम सिंह श्रेष्ठलाई कपुरकोट, छत्रेश्वरी, त्रिवेणी, शारदा र कालीमाटी र अम्बर गिरीलाई कुमाख, दार्मा, बनगाड, बागचौर र सिद्धकुमाखको जिम्मेवारी दिइएको छ । रुकुमपश्चिममा दिपकबहादुर शाहलाई काठविसकोट, चौरजहारी र सानीभेरी र सौरेन्द्रबहादुर शाहलार्ई त्रिवेणी, बाँफिकोट र मुसिकोटमा खटाइएको छ ।
हुम्लामा कालिबहादुर शाहीलाई अदानचुली, चंखेली, ताजाकोट र सर्केगाड, विकास महतलाई खार्पुनाथ, नाम्खा र सिमिकोट, मुगुका सबै पालिकामा दिपकबहादुर शाही, डोल्पाका सबै पालिकामा अंगद बुढालाई कमाण्डर बनाइएको छ । मुगुमा सत्याड, सोरु, छायाँनाथरारा र मुगुमकार्मारोग गाउँपालिका छन् भने डोल्पामा काइके, डोल्पोबुद्ध, शेफोक्सुण्डो, छार्कातागंशोग, त्रिपुरा सुन्दरी र मुड्केचुला गाउँपालिका छन् ।
जुम्लामा भिमबहादुर शाहीलाई कनकासुन्दरी, सिंजा, हिमा, तिला, ज्ञानेन्द्र शाहीलाई तातोपानी र चन्दननाथ र रमानन्द न्यौपानेलाई गुठिचौर र पातारासीको कमाण्डर बनाइएको छ ।
त्यस्तै कालीकोटमा धनबहादुर बुढालाई खाँडाचक्र, नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणी, धनसुर शाहीलाई तिलागुफा, महावै र शुभकालिका र सत्य बहादुर शाहीलाई पचालझरना र पलाँता गाउँपालिकाको कमाण्डर बनाइएको छ ।
जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ । उनीहरूले गरेका कामको अनुगमन तथा मूल्यांकन पार्टीका प्रदेश संयोजक र सहसंयोजकहरुले गर्नेछन् ।
राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्याउने लक्ष्य लिएको छ । जिम्मेवारी तोकिएका नेताहरूले भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध पार्टीका अवधारणाहरूलाई प्राथमिकताका साथ राख्ने तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने विशेष अभियान सञ्चालन गर्ने काम गर्नेछन् ।
तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेताहरू स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेश गर्नुपर्ने छ । ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुन सक्ने जनाइएको छ ।
को कहाँ खटिने रु

नेपालीरैबार । २०८० श्रावण ५, शुक्रबार